‘गीता’ छोएर मिल्यो राप्रपा

0
Shares

काठमाडौं, (नेस) ।

राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकीकरण भएको छ। हिजो बुधबार राष्ट्रिय सभागृहमा घोषणासभा गरी दुई दलबीच पुनः एकीकरण भएको हो।

घोषणासभामा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिको खोजी भइरहेको बेला पार्टी एकीकरण भएको बताउनुभयो। एकजुट भएको राप्रपाले सशक्त राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिका रूपमा आवश्यकता पूरा गर्ने उहाँले बताउनुभयो।

राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले गणतन्त्रका नाममा लुटतन्त्र मौलाएको र समय प्रतिगमनउन्मुख रहेको बताउनुभयो।

उहाँले बेलायत, जापान, नर्वे, थाइल्यान्डजस्ता देशमा अहिले राजसंस्थासहितको प्रजातन्त्र कायम रहेको बताउँदै नेपालमा अहिले पनि राजसंस्थाको आवश्यकता रहेको दाबी गर्नुभयो।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देशमा राप्रपाजस्तो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको औंल्याउँदै अब राप्रपा कहिले पनि फुट्न नहुने बताउनुभयो। ‘पार्टीको टुटफुटबाट कार्यकर्ताले अब दुःख पाउनुहुन्न।’ –चन्दले भन्नुभयो।

अध्यक्ष कमल थापाले विगतका गल्तीबाट पाठ सिक्दै पार्टी नफुटाउने प्रण गर्नुभयो। निजी स्वार्थभन्दा माथि देश र पार्टी रहनुपर्ने बताउँदै थापाले कार्यकर्ताको दबाबमा एकता सम्भव भएको स्वीकार गर्नुभयो।

राप्रपा (संयुक्त) र राप्रपाबीच एकीकरण गर्ने सहमतिका साथ गत शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो। एकीकरणसम्बन्धी आधारपत्रमा, संविधानमा रहेका असहमतिहरू कायम राख्दै संविधानसँग सहकार्य गर्ने उल्लेख छ।

संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रलाई राप्रपाको मूल सैद्धान्तिक आधारका रूपमा स्वीकार गरिएको छ। आगामी महाधिवेशनसम्म क्रमशः पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तीन अध्यक्ष रहनेछन्।