‘सेक्टर कमान्डर’ को जिम्मेवारी बानियालाई

0
Shares

दीपक रिजाल, काठमाडौं । 

नेपाली सेनाका सहायक रथी दीपक बानियालाई संयुक्त राष्ट्रसंघले महत्वपूर्ण जिम्मेवारी दिएको छ।

हाल जुम्लामा रहेको २४ वाहिनीका वाहिनीपतिसमेत रहेका बानियालाई साउथ सुडानको अनमिस मिसनको सेक्टर कमान्डरको जिम्मेवारी दिएको घोषणा गरिएको हो।

सहायक रथी बानियाले अनमिस मिसनमा तेस्रो वरीयतामा रहेर काम गर्नुहुने भएको छ। उक्त मिसनमा विश्वभरका २२ हजार सैनिक शान्ति सैनिकका रूपमा कार्यरत रहेका छन्। उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरी गरी झन्डै २ हजारको हाराहारीमा कार्यरत रहेको बताइएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बानियाको नियुक्तिको पुष्टि गर्नुभएको छ। साउथ सुडानमा शान्ति स्थापनाका लागि कार्यरत विश्वभरका सेनाले उक्त देशलाई चार भागमा विभाजन गरी काम गरिरहेको छ।

सहायक रथी बानियाले उक्त ४ वटा सेक्टरमध्ये एउटा सेक्टरको जिम्मेवारी बहन गर्नुहुने भएको छ। यसअघि सोही जिम्मेवारीमा सहायक रथी नैनराज दाहाल हुनुहुन्थ्यो। दाहाल सेक्टर कमान्डरको जिम्मेवारी सम्हालेर स्वदेश फर्किसक्नुभएको छ।

यसअघि नेपाली सेनाका सहायक रथी देवबहादुर घले, लोकबहादुर थापा मगर र सरोजराज शर्माले विभिन्न युद्धग्रस्त मुलुकमा सेक्टर कमान्डरको भूमिका निर्वाह गरिसक्नुभएको छ।

युद्धग्रस्त मुलुकको शान्ति स्थापनाका लागि नेपालले ठूलो योगदान पु¥याएको छ। शान्ति स्थापनाका लागि नेपाल अहिले शान्ति सैनिक उपलब्ध गराउने मुलुकको चौथो नम्बरमा रहेको छ। विश्वका १ सय २२ मुलुकले द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेना पठाउँदै आएका छन्। नेपालले हाल १२ वटा मुलुकमा ५ हजार ६ सय ५८ जना शान्ति सैनिक परिचालन गरेको छ।

यसअघि राष्ट्रसंघले उपरथी ईश्वर हमाललाई गोलानहाइट मिसनमा फोर्स कमान्डरको जिम्मेवारी दिइसकेको छ। उहाँ आफ्नो कार्यकाल सम्हाल्न त्यसतर्फ प्रस्थान गर्ने तयारीमा हुनुहुन्छ।