पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट, प्रचण्डद्वारा घटनाको निन्दा

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर । 

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा बुधबार बिहान प्रेसरकुकर बम विस्फोट भएको छ।

मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा फाँटमा रहेको उहाँको घरमा भएको विस्फोटबाट निर्माणाधीन घरको पर्खाल क्षतिग्रस्त भएको छ। महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालालका अनुसार उक्त घरको पर्खाल र सिसामा क्षति पुगेको छ भने बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरको पनि सिसा फुटेको छ।

बमले आफ्नो घरको चार तलामाथिको ढोका उप्किनुका साथै घरको प्लास्टर गरेको पिल्लर समेत चर्किएको बताउँदै छिमेकी घिमिरेले भन्नुभयो– ‘म छोराछोरीसँग घरमै थिएँ। खाना बनाइरहेका बेला ठूलो आवाजसहित भुइँचालो आएको जस्तो भयो। पछि हेर्दा त जताततै चर्किएको, भत्किएको रहेछ।’

सोही घरमा डेरामा बस्ने सुरेन्द्र खड्कीको बा१९च ४७८१ नम्बरको मारुती भ्यानमा क्षति पुगेको छ। दक्षिणपट्टिको घरको सिसा फुटेको छ। त्यस घरको घरपति अमेरिका बस्ने गरेको प्रहरीले जनाएको छ।

बाँस्कोटाको घर क्षेत्रमा प्रहरीले सधैँ गस्ती गर्ने गरे पनि बुधबार बिहान प्रहरीको टोली चिया खान गएको मौका पारेर विस्फोट गराइएको स्थानीयको भनाइ छ। उक्त घर निर्माणकै क्रममा रहेकाले कोही बस्ने गरेका थिएनन्। एक तलाको उक्त घरमा तला थपिएको थियो।

निवर्तमान मन्त्री बास्कोटा मन्त्री भएदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आउनुभएको छ। मन्त्रीबाट राजीनामा दिए पछि पनि उहाँ आफ्नो निवास सर्नुभएको छैन। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे कमिसन ‘डिल’ गरेको भनिएको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्रीबाट राजीनामा दिनुभएको थियो।

उहाँले बम विस्फोटनको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गर्नुभएको छ। ‘मैले सम्पूर्ण रूपमा सबै विषयको छानबिन होस् भनेरै राजीनामा दिएको हो, अहिले यो सब कसले र किन गरिरहेको छ, म बढी बोल्दिनँ, बाँस्कोटाले भन्नुभयो। बुधबार सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएको ठीक एक वर्ष पुगेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले बास्कोटाको घर निशानामा छ भन्ने महशुस गरेर २४सै घण्टा ड्युटी तैनाथ गरेको दाबी गर्नुभयो।

छिमेकीको घरको बीचमा रहेको खालि ठाउँबाट छिरेर ७ः३० देखि ७ः३५ को बीचमा प्रेसरकुकर बम राखिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ। उक्त बम राखिएको ५ मिनेटमा विष्फोट भएको पाइएको प्रहरी दाबी छ।

छिमेकीले घिमिरेको घरपछाडि थुपारिएको गिटीमा एक व्यक्ति उभिएको देखेको बयान दिएका छन्। त्यही ठाउँबाट बम विष्फोट गराउन प्रयोग हुने रिमोट, झोला, प्रेसर कुकरका टुक्रा र विष्फोटमा प्रयोग हुने सामग्री भेटिएको छ।

अपराध स्थलमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको पर्चा बरामद भएकाले विप्लव समूहले विस्फोट गराएको हुनसक्ने एसपी प्रधानले आशंका गर्नुभयो।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले प्रतिबन्धित समूहलाई लक्षित गरेर अनुसन्धानको दायरालाई साँघुरो बनाएको बताउनुभयो।

यसैबीच घटनामा संलग्न रहेको आशंकामा विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ जडिबुटीबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना केन्द्रीय सदस्य तथा बास्कोटाको निवासमा गराइएको उक्त विस्फोटको निन्दा गर्नुभएको छ।

बुधबारै एक विज्ञप्ति जारी गर्दै उहाँले घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कडा कानूनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ।