एचआईभीमुक्त विश्वको दोस्रो व्यक्ति 

0
Shares

लन्डन, (एजेन्सी)
बेलायतको राजधानी लन्डन निवासी एकजना पुरुष एचआईभी उपचारबाट स्वस्थ हुने विश्वको दोस्रो व्यक्ति बनेको डाक्टरहरूले मंगलबार दाबी गरेका छन्। एडम कास्तिल्लेजो नामक ती व्यक्ति एन्टि– रेट्रोभाइरल थेरापी छोडेको तीस महिनाभन्दा लामो समयपछि पनि भाइरस मुक्त अवस्थामा रहेको बताइएको छ।
तर, उनी एचआईभीविरुद्धका औषधिबाट ठीक भएको नभई उनको क्यान्सरको स्टेम सेल उपचारको क्रममा दिइएको औषधिबाट आश्चर्यजनक किसिमले उनी एचआईभी मुक्त भएको लान्सेट एचआईभी जर्नल रिपोर्टमा उल्लेख गरिएको छ।
डाक्टरहरूका अनुसार उनलाई स्टेम सेल दान गर्ने व्यक्तिको जिन असाधारण किसिमको भएको जसले गर्दा उनी एचआईभीबाट समेत सुरक्षित हुन पुगेका हुन्। त्यस्तै, प्रकारको उपचारको क्रममा सन् २०११ मा टिमोथी ब्राउन नामक बर्लिनका बिरामी एचआईभीको सफल उपचार हुने विश्वकै पहिलो व्यक्ति बनेका थिए।
पूर्ण सार्वजनिक हुन चाहेका ती ४० वर्षीय एडम कास्तिल्लेजोको रगत, वीर्य र तन्तुमा एचआईभी भाइरस नरहेको डाक्टरहरूले बताएका छन्। परीक्षणबाट उनको ९९ प्रतिशत इम्युन सेललाई दाताको सेलले विस्थापित गरेको पाइएको छ।