अमेरिकाद्वारा अफगानिस्तानबाट फौज फिर्ता शुरू 

0
Shares

काबुल,(एजेन्सी)
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा शान्ति ल्याउने उद्देश्यले तलिवान लडाकू समूहसँग भएको सम्झौताअनुरूप त्यहाँबाट आफ्नो फौज फर्काउने काम शुरू गरेको छ। गत २९ फेब्रुअरीमा कतारको राजधानी दोहास्थित एक पाँचतारे होटेलमा अमेरिका र तालिवानबीच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।
सो सम्झौतामा अमरिकाले १ सय ३६ दिनभित्र अफगानिस्तानमा तैनाथ आफ्ना करिब १२ हजार फौजको आकारलाई ८ हजार ६ सयमा झार्न सहमति जनाएको थियो। लामो समयदेखि पटक–पटकको प्रयासपछि बल्ल कतारमा बैठक सफल हुन पुगेको थियो।
सो वार्तामा अफगान सरकारको भने सहभागिता रहेको थिएन। तर, अफगान सरकारले पनि निकट भविष्यमा नै तालिवान समूहसँग वार्ता गर्ने अपेक्षा गरिएको छ। दोहा सम्झौता सम्पन्न भएको २४ घन्टा पनि बित्न नपाउँदै आफगान राष्ट्रपति असरफ घानीले आफ्नो सरकार उक्त सम्झौता पालना गर्न बाध्य नहुने तथा तालिवानसँगको प्रत्यक्षा वार्ताको पूर्वसर्त स्वरूप तालिवान बन्दीलाई रिहाई नगरिने बताएका थिए।
तर, सोमबार मात्र एक भव्य कार्यक्रमका बीच दोस्रो कार्यकालको प्रारम्भ गरेका घानीले एक विज्ञप्ति जारी गर्दै यसै साता कम्तीमा १ हजार तलिवान बन्दी रिहा गर्ने घोषणा गर्ने भएका छन्। गत साता हेल्मान्द प्रान्तमा अफगान फौजमाथि आक्रमण गरेको रिसको झोंकमा अमेरिकाले हवाई आक्रमण गरेपछि दोहा सम्झौता कमजोर देखिएको थियो।
अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) गठबन्धनले यसरी तालिवान लडाकूहरूले सम्झौतालाई पूर्णपालना गरेको खण्डमा १४ महिनाभित्र सम्पूर्ण फौज फिर्ता लैजान सहमति जनाउनेछन्। दोहा सम्झौताअनुसार लडाकूहरूले सम्पूर्ण आक्रमण कार्य रोक्ने तथा अलकायदालगायत अन्य उग्रवादी समूहलाई आफू नियन्त्रित क्षेत्रमा कुनै पनि गतिविधि गर्न नदिने सहमति जनाएका हुन्।
सन् २००१ को ११ सेप्टेम्बरमा अलकायदाले अमेरिकी भूमिमा गरेको आतंककारी तथा आत्मघाती आक्रमणको केही समयपछि अफगानिस्तानमा धावा बोलेको अमेरिकी नेतृत्वमा रहेको गठबन्धन फौजले तालिवान सरकार अपदस्थ गरेको थियो।