गौतम बुद्ध विमानस्थल प्रभावित मेलम्ची निरन्तर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । 

चीनको उहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिले मानव स्वास्थ्यमा मात्र होइन अर्थतन्त्रमा समेत नराम्रो प्रभाव परेको छ। १ सय १२ देश यो रोगको संक्रमणमा छन्।

कोरोनाका कारण ४ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८० हजारभन्दा बढी मानिस प्रभावित भइसकेको रिर्पोट सार्वजनिक भएको छ। कोरोनाका कारण विकास निर्माणदेखि अर्थतन्त्र प्रभावित भएको छ। हाल कोरोनाको संक्रमणमा रहेको कोही नभए पनि नेपाल यो रोगका कारण अप्ठेरोमा परेको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएका चिनियाँ प्राधिक काममा नफर्कंदा विमानस्थलको काम नै रोकिएको छ।

चिनिया ठेकेदारले आफ्ना प्राविधिक र मजदुरमार्फत निर्माणको कामलाई तीव्रता दिएको छ। कोरोनाको कारण आयोजना निर्माणमा असर नपरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

नेपालमा चिनियाँ ठेकेदारले लिएका अधिकांश आयोजना प्रभावित भएका छन्। त्यस्तै बहुचर्चित र बहुप्रतिक्षित राष्ट्रिय गौरवको खानेपानी आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम चिनियाँ ठेकेदारले गरेको भए पनि उक्त आयोजना भने अहिलेसम्म प्रभावित भएको छैन। चिनियाँ ठेकेदारले आफ्ना प्राविधिक र मजदुरमार्फत निर्माणको कामलाई तीव्रता दिएको छ। कोरोनाका कारण आयोजना निर्माणमा असर नपरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

इटालियन कम्पनी सीएमसी दि रिभेनाले बाँकी राखेको मेलम्ची आयोजनाको काम सम्पन्न गर्न चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई नेपाल सरकारले जिम्मा दिएपछि काम अघि बढिरहेको छ।

समितिका सूचना अधिकारी राजेन्द्र पन्तले कोरोनाकै कारण मेलम्ची आयोजनाको काममा असर नगरेको जानकारी दिनुभयो। ‘चिनियाँ क्याम्पमै छन्। उनीहरू अहिले चीन गएका छैनन्। काम तीव्ररूपमा अगाडि बढेको छ।’ –उहाँले भन्नुभयो।

आयोजनाले वैकल्पिक तबरले आउने असारमा काठमाडौंमा पानी खसाल्ने गरी काम गरिरहेको छ। सुरुङको फिनिसिङ, हेडवक्सर्् (मुहान), भेन्टिलेसन साफ्ट जडान, टनेल गेट जडानको काम अहिले तीव्ररूपमा भइरहेको आयोजनाले जनाएको छ।

गएको माघमा मेलम्ची आयोजनाको काम गर्ने मुख्य ठेकेदार सीएमसी भागेपछि चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई सुरुङ र मुहान गरी दुईवटा कामको ठेक्का दिइएको छ।

सम्झौताअनुसार सुरुङको काम आउने असोजभित्र र मुहानको काम पुस महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो। तर, त्यसअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने वातावरण बनाउने गरी काम गर्न निर्देशन दिएको समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताउनुभयो।
पछिल्लो जानकारीअनुसार, अहिले नयाँ ठेक्काको भौतिक प्रगति ६५ प्रतिशत रहेको छ।

अहिले १० प्याकेजमा ठेकेदारले बाँकी काम गरिरहेको छ। सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आउने असारमै पानी ल्याउने लक्ष्य तय गरेको थियो। जसअनुसार आयोजना र ठेकेदार दुवैलाई काम सम्पन्न गर्न अहिले दबाब परेको छ।