कोरोना भाइरसको चपेटामा विश्व, फैलने क्रम तीव्र

0
Shares

बेइजिङ (एजेन्सी)

चीनबाट शुरू भएको कोभिड १९ भाइरसको संक्रमण १ सय १ देशमा फैलिसकेको छ। हालसम्म ९२ देशमा यसको पुष्टि भइसकेको छ। आइतबार विश्व स्वास्थ्य संगठनले १ सय १ देशमा फैलिसकेको जानकारी दिएको हो। सोमबार चीनमा २३ र दक्षिण कोरियामा ३ जनाको मृत्यु भएको छ।

पछिल्लो संक्रमण फैलिएका देशमा कोलम्बिया, होली सी, पेरु, सर्बिया, टोगो यस सूचीमा समावेश भएका छन्। भाइरस संक्रमणबाट मर्नेको संख्या बढ्ने क्रममा ३ हजार ८ सय ३१ पुगेको छ। आइतबार मात्रै ८९ जनाको मृत्यु भएको र १ हजार ७ सय ५२ नयाँ संक्रमितको पुष्टि भयो। विश्वभरि संक्रमित बिरामीको संख्या १ लाख १० हजार ३ सय ३७ पुगेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार हालसम्म विश्वभरि ६० हजार ९ सय २४ जना संक्रमित उपचारपछि ठीक भएका छन्। ४३ हजार २ सय १७ जनाको उपचार भइरहेको छ। चीनबाहिर संक्रमित संख्या २४ जहार ७ सय २४ पुगेका छन् भने ५ सय ६३ जनाको मृत्यु भइसकेको छ। चीनको उहान शहर कोरोना भाइरसको केन्द्र रहेको छ।

चीनको पूर्वी प्रान्त फुजियानको क्वान्डु शहरमा कोरोना भाइरस संक्रमितलाई अलग राख्ने क्रममा प्रयोग भएको सात तल्ले एक होटल भत्किँदा मर्नेको संख्या १० पुगेको छ। भग्नावशेषमा अझै दर्जनौं पुरिएर रहेको आशंका गरिएको छ। कोरोना भाइरस फैलिएपछि होटल अस्थायी क्वारेन्टाइन सेन्टरका रूपमा प्रयोग भइरहेको थियो। प्रहरीले होटल मालिकलाई पक्राउ गरेको छ।

दक्षिण कोरिया र इरान धेरै प्रभावित
एसियामा चीनपछि यस भाइरसको संक्रमणबाट दक्षिण कोरिया र इरान सबैभन्दा धेरै प्रभावित छन्। इरानमा संक्रमित सख्या ६ हजार ५ सय ६६ र १ सय ९७ को मृत्यु भइसकेको छ।

त्यसैगरी, दक्षिण कोरियामा ७ हजार ३ सय १३ संक्रमित छन्। त्यहाँ मर्नेको संख्या ४४ बाट बढेर ५० पुगेको छ। दक्षिण कोरियाको दाएगु शहर सबैभन्दा धेरै प्रभावित छ। यहाँ ५ हजारभन्दा धेरै संक्रमित मामिला पुष्टि भइसकेका छन्। यहाँ १ सयभन्दा धेरै चर्चको प्रार्थना सभामाथि रोक लगाइसकेको छ।
जापानमा संक्रमणको १ हजार १ सय ९८ मामिलाअघि आइसकेका छन्। १३ जनाको मृत्यु भइसकेको छ।

भुटानमा पनि एक संक्रमित
त्यसैगरी, भुटानमा पनि कोरोना भाइरसको एक घटना देखिएको छ। एक अमेरिकी पर्यटकमा संक्रमणको पुष्टि भइसकेको छ। ७६ वर्षीय अमेरिकी नागरिक मार्च २ मा भारतबाट भुटान आएका थिए। मार्च ५ मा ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो।

भारत
भारतमा हालसम्म ४३ जनामा संक्रमित भएको पुष्टि भइसकेको छ। आइतबार मात्रै नयाँ ७ जनामा उक्त संक्रमण देखिएको हो। संक्रमणको जाँचका लागि देशभरि ५३ प्रयोगशाला निर्माण गरिएका छन्। तीमध्ये दुई दिल्लीमा छन्। सरकारको निर्देशनमा टेलिकम कम्पनीहरूले रिंगटोमा सजगता तथा जागरुकताको सन्देश प्रसार गरिरहेका छन्।

विदेशबाट आउने यात्रीलाई थप ९ विमानस्थलमा स्क्रिनिङ गर्न सकिने सरकारले जनाएको छ। यस प्रकारको सुविधा रहेको विमानस्थलको संख्या २१ बाट बढेर ३० पुगेको छ। केन्द्र सरकारले कार्यालहरूमा मार्च ३१ सम्म बायोमेट्रिक हाजिरमाथि रोक लगाएको छ।

पानीजहाज रोक्न आदेश
मेलेसिया र थाइल्यान्डले कोस्टा फच्र्युना क्रुजलाई आप्mनो बन्दरगाहमा आउन रोक लगाएको छ। यसमा इटालीका ६४ जना छन्। उक्त पानीजहाजमा कोरोना भाइरस संक्रमित कुनै यात्री छैनन्। शुक्रबार कोस्टा फच्र्युना क्रुजलाई थाइल्यान्डको फुकेट आइल्यान्डमा रोकिन अनुमति दिइएन। त्यसपछि उक्त पानीजहाज शनिबार मलेसियाको पनांग स्टेटमा रोक्ने प्रयास गरिएको थियो तर त्यहाँ पनि रोक्न दिएन। मलेसियाका स्थानीय नेता फी बुन पोले मलेसियाले सबै जहाजलाई आप्mनो बन्दरगाहमा प्रवेश नदिने निर्णय गरेको बताए।

साउदी अरेबिया
साउदी अरेबियाले देशमा नोभेल कोरोना भाइरसको प्रसार रोक्न स्कुल र विश्वविद्यालय बन्द गर्ने घोषणा गरेको छ। साउदी अरेबियाको शिक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी उक्त निर्णय मार्च ९ देखि लागू हुने र अर्को सूचना नआएसम्मका लागि कार्यान्वयन जारी रहने जनाएको छ।

कतिपय क्षेत्रमा कोभिड १९ संक्रमणको समाचार आएपछि स्कुल र विश्वविद्यालय बन्द गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। त्यसको एक दिनपछि नै उक्त निर्णय लिइएको हो। साउदी अरेबियामा कोरोना भाइरसको संक्रमण हालसम्म ११ स्थानमा पहिचान भइसकेको छ। विद्यार्थीहरूको पढाइ प्रभावित नपार्न भर्चुएल एजुकेसन प्रोग्राम सञ्चालनमा ल्याउने मन्त्रालयले जनाएको छ।

युरोप र अमेरिका
अमेरिकामा कोरोना भाइरसबाट २१ जनाको ज्यान गइसकेको छ भने ५ सय ९ जना संक्रमित छन्। ट्रम्प सरकार अब यो भाइरस फैलिन नदिन सेना बोलाउने सोचमा पुगेका छन्। मर्नेहरूमा धेरैजसो जापानको डायमन्ड प्रिन्सेज सिपबाट फर्केका यात्री हुन्। अमेरिकामा फिर्ता ल्याइएका ती यात्रुहरूलाई हाल पनि क्वारेन्टाइनमा राखिएका छन्।

क्यानिफोर्नियाका तटबाट दूरीमा रहेको प्रिन्सेस पानीजहाजमा हेलिकप्टरबाट मेडिकल उपकरण पुर्याइरहेको छ।
क्यालिफोर्नियाका गभर्नर गेविन न्युसमले एक प्रेस सम्मेलनमा ग्य्रान्ड प्रिन्सेस क्रुज सिपमा कम्तीमा २१ जना कोरोना संक्रमित रहेको र सोमबार उक्त जहाज अकल्यान्ड पुगेको जानकारी दिए।

उक्त जहाजमा कोरोनाबाट संक्रमित १९ चालक दलका सदस्य २ यात्री छन्। जहाजमा यात्रा गरिरहेका करिब ३ हजार ५ सय यात्रुमा कोरोनाको परीक्षण गरिएको तर सबैमा उक्त भाइरसको संक्रमण नदेखिएको उनले बताए। कोरोनाका कारण न्युयोर्क पछि ओरेगन राज्यले पनि आपत्कालीन घोषणा गरेको छ।
युरोपमा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित इटाली तीव्र गतिमा संक्रमण फैलिएपछि सन्त्रास भएको छ। सडकहरू सुनसान हुन थालेका छन् भने सरकारले पनि सबै सिनेमा हल, म्युजियम र रंगमन्च अर्को आदेश नआएसम्मका लागि बन्द गर्न भनेको छ। त्यहाँ कोरोना भाइरसबाट मर्नेको संख्या ३ सय नाघिसकेको छ भने संक्रमित संख्या बढेर ६ हजार ५ सय ६६ पुगेका छन्।

चीनको निर्यातमा गिरावट
कोरोना भाइरस प्रकोपले विगत दुई महिनामा चीनको कारोबारमा नराम्रो असर परेको छ। निर्यातमा १७ दशमलव २ प्रतिशतले गिरावट आएको छ। यो सन् २०१९ फेब्रुअरीमा अमेरिकासँग व्यापार युद्धपछिको सबैभन्दा ठूलो गिरावट हो। चीनको आयातमा पनि ४ प्रतिशतले कमी आएको छ।