ठूलो समूहमा होली नखेल्नू: जिप्रका

0
Shares

काठमाडौं, (नेस)
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण हुनसक्ने खतरा औंल्याउँदै सानो समूहमा होली खेल्न सर्वसाधारणमा आग्रह गरेको छ।
ललितपुर, भक्तपुर र काठमाडौंका जिल्ला प्रशासन कार्यालयले ठूलो संख्यामा भेला भएर होली नखेल्न भन्दै सो आग्रह गरेको हो।
भक्तपुर जिप्रकाले एक विज्ञप्ति प्रकाशित गरी सार्वजनिक अपिल गर्ने क्रममा सो आग्रह गरेको हो। ‘फागु पूर्णिमालाई अझ उल्लासमय र मर्यादित बनाउन कसैको इच्छा विपरीत रंग र लोलाको प्रयोग नगर्न हुन, फोहोर र प्रदूषित पानीको प्रयोग नगर्न र कोरोना भाइरसको सन्त्रास कायमै रहेकाले सानो समूहमा अनुशासित तरिकाले होली मनाउन आग्रह गर्दछौं।’ –भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालयले ललितपुरले कोरोना भाइरसको संक्रमणबाट नेपाल उच्च जोखिम रहेको औंल्याउँदै होली पर्वमा पानीको फोहरा नखेल्न/नखेलाउन विभिन्न कार्यक्रमको आयोजना गरी ठूलो संख्यामा मानिसहरूको जमघटबाट टाढा रहन आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले जारी गर्नुभएको विज्ञप्तिमा निरन्तर खोकी, रुघा, ज्वरोको संक्रमण, टाउको द्ुख्ने तथा घाँटीमा समस्या हुने लक्षण देखापरेमा तुरुन्तै स्वास्थ्य परीक्षण गराउन भनिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले फागुपूर्णिमा (होली) का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको छ। होलीका अवसरमा कार्यक्रम गर्ने वा भीड हुने कार्य गर्न रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो।
होलीका लागि भीडभाड हुने कार्यक्रम नगर्न औपचारिक रूपमा नभनेको तर यस्तो अवस्थामा कार्यक्रम लिएर आउनेलाई स्वीकृति भने दिएको प्रजिअ दाहालको भनाइ छ। कोरोना भाइरस संक्रमणको त्रास सबैतिर भएको अवस्थामा विभिन्न सञ्चारमाध्यमले जानकारी दिइरहेकाले नागरिकहरू आफैँ सचेत हुनुपर्ने उहाँले बताउनुभयो।