भगवती तिमल्सिना, काठमाडौं ।
कोरोना भाइरस नेपालको कुना कुनामा गइसकेको छ। एक्कासि धेरै मानिसको मृत्यु भयो या धेरै बिरामी भए भने मात्र यसको प्रभाव के हो भन्ने थाहा हुन्छ। बितेका २ वर्षमा निमोनिया र श्वासप्रश्वासको समस्याबाट कति मान्छेको मृत्यु भयो र कति निको भएर फर्किए भन्ने तथ्यांक अहिलेसम्म बाहिर आएको छैन। अब आउने तथ्यांकलाई सरकारले नलुकाई बाहिर ल्याउनुपर्छ।
नेपालबाट अस्ट्रेलिया गएका व्यक्तिमा कोरोना भाइरस प्रमाणित भइसकेको भनेपछि यहाँ छैन भन्न मिल्दैन। यत्ति हो कि कोरोनाले उग्र रूप लिएको छैन र बिरामीहरू अस्पताल भर्ना भइसकेका छैनन्। हाम्रोमा तयारी नै पुगेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा कुनामा मात्र थर्मोमिटर राखेर केही हुनेवाला छैन।
कोरोनाको संक्रमण देखापर्न २ देखि १४ दिन लाग्छ। यस बीचमा रोगको लक्षण नै देखिँदैन, ज्वरो आउँदैन, रुघाखोकी लाग्दैन, तर उसको सासबाट भाइरस बाहिर आइरहेको हुन्छ। स्वस्थ देखिएको व्यक्तिमा संक्रमण भई कोरोनाको संकेत नदेखिए पनि अर्को व्यक्तिलाई रोग सर्न सक्छ। रोगको लक्षण नदेखिईकन अर्को मान्छेलाई भाइरस सर्न सक्छ।
नेपालमा कोरोना भाइरसको संक्रमण भइसकेका देशबाट खुलेआम मान्छे भित्रिए, भित्रिरहेका छन्।
सरकारले ज्वरो नापेजस्तो नाटक ग¥यो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार विदेशबाट नेपाल भित्रने यात्रुलाई कुनै फाराम भराइएन। को कहाँबाट आए कता जाँदै छन्, खुरुखुरु एयरपोर्टबाट आए कहाँ गए कुनै किसिमको रेकर्ड छैन सरकारसँग। यस्तो बेलामा विदेशबाट आउने व्यक्तिको नाम, ठेगाना, कहाँ–कहाँ जाने हो र १४ दिन पहिले कहाँ–कहाँ गएको थियो सबैको अभिलेख राख्नुपथ्र्यो। सरकारले यी कुनै पनि प्रक्रिया अपनाएको देखिएन। नेपालीहरू यो रोगबाट मुक्त छन्, बाहिरबाट नेपालमा आउनेलाई स्वागत गर्छौं भनेर मन्त्रीहरूले आमनेपालीको जनस्वास्थ्यमाथि खेलवाड गरिरहेका छन्।
कोरोना भाइरस जनावरमा प्रवेश भएको वंशाणुगत स्टकचर परिवर्तन भएर आएको रोग हो। त्यसले एउटा मान्छेबाट अर्को मान्छेमा तुरुन्त सार्न सक्ने प्रकृति धारण गरेकै कारण चीनको उहानमा फैलियो, जुन हाल अत्यन्तै छिटोछिटो धेरै देशमा फैलिरहेको छ। यो रोग दीर्घरोगी र पाको उमेरका व्यक्तिमा बढी फैलन्छ। मुटु, मिर्गौला, दम, मधुमेहका रोगीलाई छिटो संक्रमण हुने डर हुन्छ।
कोरोनाले उग्ररूप लियो भने आईसीयूमा राखेर बिरामीका अंगहरूलाई सपोर्ट गर्ने र जोगाउने हो। बिरामीको अंग बचाउन मेकानिकल भेन्टिलेसन चाहिन्छ। हप्तौंसम्म आईसीयूमा राख्दा कोही बाँचेका छन् भने कसैको मृत्यु नै भएको छ। चीनको पछिल्लो तथ्यांकअनुसार कडा उपचार गरेपछि १ सय जनामा दुईदेखि ३ जनाको मृत्यु भएको छ। हाल संक्रमितको आधारमा अमेरिकामा मृत्युदर ६ प्रतिशत रहेको छ। कोरोनाको खास औषधि नहुँदा विशेष उपचार गर्न सकियो भने भने पनि केही मानिसलाई मात्र बचाउन सकिन्छ।
चीन, अमेरिका, जापानजस्ता सुविधा सम्पन्न मुलुकमा कोरोना भाइरसका बिरामीको मृत्युदर उच्च भइरहेको अवस्थामा नेपालमा कुनै उपकरण नै छैन। काठमाडौंका एक–दुई अस्पतालमा अलि–अलि सामान होलान् तर देशभरि त पक्कै छैनन्। यदि, कोरोना भाइरस अन्य मुलुकमा जस्तै फैलियो भने कति जना मानिस बचाउन सकिन्छ ? चीनले १ सय संक्रमितमध्ये ९७ जनालाई बचाउन सफल भएको छ। चीनको जस्तो स्वास्थ्य सेवा अमेरिका र इटलीले दिनसकेको देखिएन। यही अवस्थामा सरकार ढुक्क भएर बसेमा नेपालमा कोरोनाका कारण सय जनामा ८ देखि १० प्रतिशतको मृत्यु हुन सक्छ। नेपाल सरकारको नीति नै गलत देखिन्छ। चीनबाट आएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने भनिएको छ। जुन परिभाषाभित्र रहेर रोगको परीक्षण गरिँदै छ यो ज्यादै साँघुरो दायरा भयो। जसले गर्दा धेरै संक्रमित मानिसहरू छुट्छन्। अब सरकारले रुघाखोकी लागेर दुई–चार दिनदेखि थलिएको बिरामीलाई निगरानीमा राखेर परीक्षण गरिहाल्नुपर्छ। सरकारी जिल्ला, क्षेत्रीय र केन्द्रीय अस्पतालका साथै प्राइभेट अस्पताललाई समेत परिचालन गर्नुपर्छ।
स्वास्थ्यकर्मीसमेत सचेत हुनुपर्छ किनकि, उनीहरूलाई फटाफट लाग्न सक्छ। यो महामारी फैलिँदा सबैभन्दा पहिला मर्ने स्वास्थ्यकर्मी नै हुन्छन्।
सरकारले एक गिलास पिउने सफा पानी दिन सकेको छैन। त्यस्तो ठाउँमा कोही गएर बस्छ ? न सुत्ने बेड राम्रो छ, न खाने ठाउँ राम्रो। प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालको कक्षमा हेरौं त कत्रो वैभव छ।
आमजनता र मिडियाले सरकारको ध्यानाकर्षण गराउँदै अभिलेख राखी सोही आधारमा संक्रमितलाई कुनै रोग लागे÷नलागेको पत्ता लगाएर प्रतिवेदन सार्वजनिक गर्न दबाब दिनुपर्छ। रोग लागेको पहिचान भएमा उसको सम्पर्कमा आएका सबैको स्वास्थ्य परीक्षण गर्नुपर्छ। विश्वमा पहिला देशको अवस्था, नयाँ रोग भए नभएको पहिचान पछि मात्र नियन्त्रणका कुरा अघि सारिन्छ।
तर, नेपालमा त्यसको आधार नै छैन। विनाआधार नेपालमा रोग नै छैन भन्दै जनस्वास्थ्यमाथि खेलवाड गर्ने मन्त्रीहरू को हुन् ? उनीहरूको कुराले विश्व नै अचम्ममा परेको छ। छिमेकी मुलुक भारतले औषधि पठाउन छाडेको भन्ने कुरातिर सरकार तातेको खै ? (वरिष्ठ फिजिसियन डा. मधु घिमिरेसँगको कुराकानीमा आधारित)
विश्व स्वास्थ्य संगठनका पाँच सुझाव
कोरोना भाइरसबाट सुरक्षित रहन विश्व स्वास्थ्य संगठनले जारी गरेका पाँच सतर्कता ः
१. बारम्बार हात धुनुहोस् ः हात नै सबैतिर छुन पुग्ने अंग भएकाले यसलाई संक्रमणमुक्त राख्नु पहिलो आवश्यकता हुन्छ।
हात कुनै पनि बेला मुख, आँखा र नाकमा पुग्ने भएकाले यो स्वस्थ रत्यो भने कोरोना भाइरसको संक्रमणबाट बच्ने सम्भावना निकै अधिक हुन्छ। हात साबुन–पानीले वा रक्सीजन्य तरल पदार्थले धुन सकिन्छ।
२. दूरी कायम राख्नुहोस् ः कसैसँग टाँसिएर बसियो वा उसको मुख सामुन्नेमा आफ्नो मुख, नाक, आँखा आदि परेमा संक्रमणको सम्भावना बढ्छ। त्यसैले एक मिटर वा तीन फिटनिकट नबस्न सुझाव दिइएको छ। खासगरी संक्रमितले खोक्दा, हाछ्युँ गर्दा प्रवाहित हुने तरल पदार्थबाट भाइरस संक्रमण नहोस् भन्ने उद्देश्यले सामाजिक दूरी कायम गर्नुपरेको हो।
३. आँखा, नाक र मुख नछुनुहोस् ः कति व्यक्तिमा आफ्ना आँखा, नाक र मुख छोइरहने बाँनी हुन्छ, यस्तो बाँनी छ भने छोड्नुहोस्।
४. श्वास–प्रश्वास अंगलाई स्वास्थ्य–प्रक्रियामा अभ्यस्त गराउनुहोस् ः तपाईंका वरिपरि उपस्थित सहकर्मीहरूलाई श्वास–प्रश्वाससम्बन्धी समस्या छैन भने तपाईं संक्रमणबाट सुरक्षित रहने सम्भावना त्वात्तै माथि पुग्छ। खोक्दा र हाछ्युँ गर्दा बाहुलाले नाकमुख छोप्ने अभ्यास गर्नुपर्छ– हत्केला वा हातले होइन। यस्तो बेला प्रयोग गरिएको टिस्यु पेपर तत्काल सुरक्षित स्थानमा फाल्नुपर्छ, पट्याएर गोजीमा कोच्ने होइन। हाते रुमाल भने धोएर पुनः प्रयोग गर्न सकिन्छ।
५. बिसन्चो भए घरमै बस्नुहोस् ः ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या छ भने कार्यालय जाने होइन तत्काल औषधि–उपचारमा लाग्नुपर्छ। स्थानीय स्वास्थ्य निकायसँग आफ्नो क्षेत्रको स्वास्थ्य अवस्थाबारे जानकारी हुने भएकाले उनीहरूसँग शुरूमै पुग्न सकिए रोग लाग्दालाग्दै उपचार प्राप्त गर्न सकिन्छ।











प्रतिक्रिया