कोरोना भाइरस रोक्न बर्दियामा उच्च सतर्कता


विष्णु तिमिल्सिना,बर्दिया।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि बर्दिया जिल्लामा उच्च सतर्कता अपनाईएको छ ।चिनको बुहान शहर देखि विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाका सबै निकायलाई उच्च सतर्कता अपनाउन र आम नागरिकहरुमा पनि रोकथामका उपायहरु अवलम्बन गर्न आह्वान गरेको छ ।

जिल्लाको भारतीय सीमाबाट आउने यात्रुहरुलाई निगरानी गर्नका लागि बढैयाताल गाउँपालिकाको फुटाहा, गुलरिया नगरपालिकाको सुरजपुर,मधुवन नगरपालिकाको ताराताल, र राजापुर नगरपालिका को खैरीचन्दनपुरमा प्रहरी चौकी संगै स्वास्थ्य सहायता कक्ष स्थापना गरी निगरानी बढाउने कार्यको स्थानीय तहबाट व्यवस्था मिलाईएको कुरा प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमलाल लामिछानेले जानकारी गराउनु भयो ।

उक्त सहायता कक्षमा एक जना स्वास्थ्यकर्मी र दुई जना प्रहरी कर्मचारी रहने व्यवस्था गरिएको छ । साथै कोरोना भाईरसका शंकास्पद विमारीहरु फेला परेमा उपचारका लागि बर्दिया अस्पतालमा आईसुलेसन कक्षको स्थापना गरिएको छ । हालका लागि दुई बेडको व्यवस्था गरिएको र आवश्यकता अनुसार थप गर्न सकिने कुरा सो अस्पतालका सुपरिटेण्ड डा. सुवाष पाण्डेले जानकारी गराउनु भयो ।

कोरोना भाइरसबाट जिल्लावासीलाई बचाउन सुरक्षा निकाय, सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रस लगायतलाई सर्तक भई रहन सुचना जारी गरीएको कुरा प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनु भयो ।

त्यसै गरी जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै होलीमा पानी तथा फोहरा नखेल्न, नखेलाउन, ठूलो संख्यामा मानिसको जमघट नगराउन, भोजभतेर, जात्रा, महोत्सवको आयोजना नगर्न र ठूलो संख्यामा सभासम्मेलन नगर्न अनुरोध गरेको छ । त्यस्तै रुघाखोकी, ज्वरो, टाउको दुख्ने, घाँटी दुख्ने लगायतका समस्या देखिएमा विचलित नभई सावधानी अपनाउन नागरिकलाई सुझाव दिइएको छ ।