सहारालाई हराउँदै पुलिस सेमिफाइनलमा

0
Shares

विजय नेपाली, पोखरा
सहारा क्लबलाई हराउँदै नेपाल पुलिस क्लब जारी १८औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
निर्माणाधीन पोखरा रंगशाला मैदानमा शनिबार भएको खेलमा पोखरालाई टाइब्रेकरमा हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो। निर्धारित र थप गरिएको ३० मिनेटको समय १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलियो। टाइब्रेकर पनि निकै रोमाञ्चक बनेको थियो। पुलिसका गोलरक्षक रोशन
खड्काले सहाराका लिरिच राम्जेको प्रहारलाई रोके। पुलिसका लागि भरत शाह, सौजन याकाह राई, हेम तामाङ र सुमन सुवेदीले गोल गरे।
त्यस्तै सहाराका गोलरक्षक अर्पण कार्कीले पुलिसका अनुप लिम्बूको प्रहार रोकिदिए। त्यस्तै सहाराका लागि आशिष गुरुङ, अजय श्रेष्ठले गोल गरे भने त्रिदेव गुरुङको प्रहार बाहिरियो। म्यान अफ दि म्याच पुलिसका गोलरक्षक रोशन घोषित भए। पुलिसका कप्तान भोला सिलवाल रातो कार्ड खाँदै बाहिरिए। उनी खेलको ९२औं मिनेटमा र ११९औं मिनेटमा दोहोरो पहेंलो कार्ड पाउँदै बाहिरिए।
यसअघि खेलको ७५औं मिनेटमा पुलिसका भरत शाहले पेनाल्टी एरियाबाट गरेको प्रहारले जाली चुमेको हो। तर सहाराले खेल सकिन केही सेकेन्ड बाँकी रहँदा गोल गर्दै बराबरीमा खेल पु¥याएको थियो। थप गरिएको ४ मिनेटको पनि अन्तिम समयमा सहाराका परिवर्तित खेलाडी अजय श्रेष्ठले गोल गरेर खेललाई अतिरिक्त समयमा तानेका थिए।
खेलको पहिलो हाफमै सहाराका गोलरक्षक घाइते भएका थिए। खेलको ८औं मिनेटमा निरकुमार राईले प्रहार गरेको फ्रिकिकलाई उत्कृष्ट बचाउ गर्दा अर्पण घाइते भए। खेलको २४औं मिनेटमा सहाराका अनिष पोमु लिम्बूको हेड क्रसबार नजिकैबाट बाहिरियो। खेलको ३९औं मिनेटमा पुलिसका निरकुमारको प्रहार क्रसबारमा लाग्दै फर्कियो। खेलको ६४औं मिनेटमा सहाराका सुमित श्रेष्ठको उत्कृष्ट प्रहार सेकेन्डबारमा लागी फर्किंदा गोलको अवसर गुम्यो।
सहाराका प्रशिक्षक विष्णु गुरुङ भन्छन्– ‘आज खेलाडीले निकै उत्कृष्ट खेल खेले, ए डिभिजन टिमसँग पनि बराबरीको खेल खेल्नु भनेको सानो कुरा होइन म खेलाडीको प्रदर्शनबाट निकै सन्तुष्टि छु।’ ‘हाम्रा खेलाडी १९ वर्षमुनिका छन्, उनीहरूको मसल विल्डअप भएको छैन। भविष्यमा यिनीहरूको खेलको स्तर निकै माथि जानेछ।’ –प्रशिक्षक गुरुङले भने।