नाफा सुरक्षित गर्न खोज्दा गिरावट



काठमाडौं, (नेस)
अघिल्लो साता उच्च अंकको वृद्धि भएको शेयर बजारमा यो साता त्यसको विपरीत अवस्थामा पुगेको छ। बजारमा उच्च गिरावट हुँदा कारोबारसमेत रोक्नुपर्ने स्थिति सिर्जना भएको थियो। साताका पाँचै दिन कारोबार भएको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भारी गिरावट भएको विश्लेषकको भनाइ छ।
साताका चार दिन घटेको बजारमा एक दिनमात्रै परिसूचक बढेको थियो। साताभर १८१ कम्पनीको ३ करोड १६ लाख ५५ हजारभन्दा कित्ता शेयर १३ अर्ब ७६ करोड रुपियाँबराबरमा कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार नेप्से ४० दशमलव ८२ अंकले घटेको थियो। दोहोरो अंकले घटेको बजारमा कारोबार भने उच्च भयो। आइतबार ४ अर्ब ८४ करोड ७४ लाख रुपियाँमा खरिद बिक्री भएको थियो। सोमबार भने परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि त्यस दिनको कारोवार स्थगित भएको थियो। साढे दुई घण्टामात्रै कारोबार भएको दिन करिब सवा दुई अर्बको शेयर कारोबार भएको थियो।
मंगलबार नेप्सेको अनलाइन प्रणालीमा समस्या आउँदा कारोबार केही समय स्थगित भएको थियो। यस दिन नेप्से परिसूचक १८ दमलव ५४ अंकले बढेको थियो। १८१ कम्पनीको ३ अर्ब ८५ करोड रुपियाँभन्दा बढीमा कारोबार भएको थियो। बुधबारसमेत नेप्से परिसूचकम ६८ दशमलव ४७ अंकले घटे दिन १७४ कम्पनीको २ अर्ब ९० करोड ८४ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको थियो।
 साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेरै बन्द भएको थियो। बिहीबार नेप्से ५ दशमलव ५० अंकले घटेर १४३५ दशमलव ७० बिन्दुमा झरेको छ। कुल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ रुपियाँमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्