खोमेनीद्वारा दिल्ली दंगाको निन्दा मुस्लिमहरू खतरामा

0
Shares

तेहरान/नयाँदिल्ली, (एजेन्सी)
इरानका सर्वोच्च नेता अयातुल्ला खोमेनीले भारतको राजधानी दिल्लीमा भएको दंगालाई लिएर भारत सरकारप्रति दुःख व्यक्त गरेको छ। नागरिकता संशोधन कानुन (सीएए) मुद्दामा गत महिना भएको हिंसा धर्मसँग जोडिएको उनले बताए। खोमेनीले भारतको हालको स्थितिलाई हेर्दा त्यहाँ मुस्लिम खतरामा रहेको बताए।
यसैबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्विट गरी खोमिनीलाई धन्यवाद दिए र काश्मिरी मुस्लिमलाई लिएर मोदी सरकारको निन्दा गरे।
उनले ट्विटमा लेखेका छन्– ‘भारतमा मुस्लिमहरूको नरसंहारले विश्वभरिका मुस्लिमको मन दुखेको छ। भारत सरकारले कट्टर हिन्दूहरू र उनीहरूको पार्टीलाई रोक्नुपर्छ। भारत इस्लामिक देशहरूबाट अलग नहोस्, यसका लागि मुस्लिमहरूको नरसंहार रोक्नुपर्छ।’
इरानी सर्वोच्च नेताले ट्विटसँगै ह्यासट्याग इन्डियनमुस्लिमडेन्जर प्रयोग गरेका छन्। खोमिनीले अंग्रेजीसँगै उर्दु, फारसी र अरबी भाषामा ट्विट गरे। यससँगै हिंसामा मारिएका व्यक्तिका बच्चा रुँदै गरेको फोटो पनि पोस्ट गरिएको छ।
यसअघि इरानका विदेशमन्त्री जावेद जरिफले दिल्ली हिंसालाई लिएर भारतको आलोचना गरेका थिए। उनले ट्विटमा भारतमा मुस्लिमविरुद्ध सुनियोजित हिंसाको निन्दा गरेको उल्लेख गरेका थिए। शताब्दीदेखि भारत र इरान मित्र रहेको उल्लेख गर्दै सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न भारत सरकारसँग अपिल गरिएको छ।
गत हप्ता विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले इरानको व्यवहारलाई लिएर विरोध गरेका थिए। उनले इरानी विदेश मन्त्रीको बयानले भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको बताएका थिए।
दिल्लीमा फेब्रुअरी २३ देखि २६ सम्म सीएएका समर्थक र विरोधी समूहमा हिंस्रक झडप भएको थियो। यस क्रममा दिल्लीको कयौं ठाउँमा आगजनी, गोली प्रहार र ढुंगामुढा भएको थियो। हिंसामा मर्नेको संख्या अहिलेसम्म ५३ पुगिसकेको छ भने २ सयभन्दा धेरै घाइते छन्। यस हिंसाको कयौं भिडियो बाहिर आएको छ।