काबुल आक्रमणमा ३२ जनाको मृत्यु

0
Shares

काबुल, (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलमा एक कार्यक्रममा भएको गोली प्रहारको घटनामा कम्तीमा ३२ जनाको ज्यान गएको छ। उक्त कार्यक्रममा अफगान नेता अब्दुल्लाह अब्दुल्ला पनि सहभागी थिए।
अफगानिस्तानका प्रमुख विपक्षी नेता तथा प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह उक्त हमलामा बच्न सफल भए पनि अन्य कयौं घाइते भएका छन्। उक्त हमलाको जिम्मेवारी कट्टरपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ।
अमेरिका र तालिवानबीच हालै मात्र एक महत्वपूर्ण शान्ति सम्झौता भएपछिको अफगानिस्तानमा भएको यो सबैभन्दा ठूलो हमला हो। उक्त शान्ति सम्झौतामा इस्लामिक स्टेटलाई समावेश गरिएको छैन।
हजारा नेता अब्दुल अली मजारीको २५औं वार्षिकीमा आयोजित एक कार्यक्रममा उक्त हमला भएको हो। मजारीको मृत्यु तालिवान हमलामा भएको थियो। टेलिभिजनमा कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो।
कार्यक्रमस्थल नजिकको एक निर्माणाधीन भवनबाट उक्त हमला गरिएको प्रहरीले बताए। हमलामा करिब ६० जना घाइते भएको सरकारी अधिकारीले बताए। हमला भएको समाचार प्राप्त भएलगत्तै सुरक्षा बल घटनास्थल पुगेका थियो। दुई जना आक्रमणकारी मारिएको गृहमन्त्रीले जानकारी गराएका छन्।
अफगानिस्तानमा शान्ति कायम गर्ने उद्देश्यले गत शनिबार अमेरिका र तालिवानबीच सम्झौता भएको थियो। सम्झौताअनुसार अमेरिका र त्यसको नेतृत्वमा रहेका देशले १४ महिनाभित्र अफगानिस्तानबाट आफ्ना फौज फिर्ता गर्ने प्रावधान रहेको छ। यसबीच तालिवान र अफगान सरकारबीच वार्ता जारी रहेको छ।
सम्झौतामा तालिवानले आफ्नो नियन्त्रणमा रहेको इलाकामा अल कायदा वा अन्य कट्टरपन्थी समूहलाई काम गर्न नदिने पनि सहमति
भएको थियो।