कोरोनाको असर पर्यटन उद्योगमा, व्यवसायीले मागे राहतको प्याकेज

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालको हवाई, होटलसहित ंिसंगो पर्यटन उद्योगमा परेको छ। नेपालमा हालसम्म संक्रमण नभेटिए पनि छिमेकी देशमा उक्त भाइरसको संक्रमण फैलिएपछि नेपाल आउने पर्यटकले बुकिङ रद्द गर्दा त्यसको असर परेको हो।
एसियाली विकास बैंक (एडीबी) ले कोरोनाका कारण नेपाली अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादनको शून्य दशमलव शून्य ४ प्रतिशतसम्म क्षति हुनसक्ने प्रक्षेपण गरेको छ। अहिलेसम्मको अवस्थामा बैंकले पर्यटन, व्यापार तथा सार्वजनिक सेवामा क्षति पुग्ने बताएको छ। एडीबीले अधिकतम् शून्य दशमलव १३ प्रतिशतसम्म क्षति हुने बैंकको प्रक्षेपण छ।
पर्यटकको आगमन घट्दा होटल क्षेत्रमा ६५ प्रतिशत र हवाई क्षेत्रमा ४० प्रतिशतभन्दा बढी व्यापार घटेको सरोकारवालाहरूको दाबी छ। कोरोनाको प्रभाव विश्वव्यापी रूपमा बढेसँगै सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई स्थगित गरेको छ। जसका कारण नेपालको पर्यटन व्यवसाय यतिबेला संकटको अवस्थामा पुगेको व्यवसायीहरूको भनाइ छ। मार्च महिनामा केही फाट्फुट्ट पर्यटकहरू आउँदै गरेको भए पनि अप्रिल महिनापछि भने ठप्पै हुने स्थितिमा रहेको पर्यटन व्यवसायी मित्रलाल श्रेष्ठको भनाइ छ।
श्रेष्ठका अनुसार अहिले नेपालमा रहेका पर्यटकहरू पनि खासै घुमफिर गर्ने मनस्थितिमा रहेका छैनन्। भूकम्पका कारण अस्तव्यस्त बनेको नेपालको पर्यटन उद्योग बल्ल तंग्रिन थालेको थियो। तर, कोरोनाका रूपमा अर्को संकट भित्रिँदा नेपालको पर्यटन उद्योग फेरि संकटग्रस्त अवस्थामा पुगेको श्रेष्ठले बताउनुभयो।
भ्रमण वर्षलाई लक्षित गरी पर्यटन उद्योगमा धेरै लगानी थपिएको स्थितिमा कोरोनाको असर गर्दा पर्यटन उद्योगी धरासयी बन्ने स्थितिमा आउन सक्ने खतरा देखिएको व्यवसायीको भनाइ छ। पर्यटकीय होटलहरूमा अक्कुपेन्सी घट्दा होटल सञ्चालन गर्ने अवस्थासमेत नरहेको व्वयवसयीहरूले बताएका छन्। तत्काल होटल बन्द नै गर्ने योजना नभए पनि खर्च कटौती गर्न थालेका छन्। जसका कारण होटलहरूले कर्मचारीलाई ‘फोर्स लिभ’ मा घर पठाउन शुरू गरेका छन्।
यसैबीच पर्यटन उद्योगसँग सम्बन्धित दर्जन संस्थाले कोरोना भाइरसका कारण व्यवसाय समस्यामा परेको भन्दै सरकारलाई ६ बुँदे माग राखेका छन्। टान, हान, नाट्टा, एनटीभीए, नाटो, सोट्टो नेपाल, टिब्यान, नारा र रिब्यानलगायतका संस्थाले माग राखेका हुन्। उनीहरूले पर्यटन क्षेत्रको सम्पूर्ण कर्जाको हाल पुर्नतालिका गर्ने तथा ब्याजलाई समेत तत्काल पुँजीकृत गर्ने वा सहुलियत डिमान्ड कर्जाको व्यवस्था गरी एक वर्षपछि मात्र सावाँसहितको आवधिक भुक्तानी गर्ने व्यवस्था मिलाउन माग राखेका छन्।
त्यस्तै पर्यटन क्षेत्रमा रहेका श्रमिकलाई आवश्यकता अनुसार कटौती गर्न र श्रमिकहरूको राहतका लागि सामाजिक सुरक्षा कोषबाट कम्तिमा ५० प्रतिशत राहतको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। यसैगरी श्रमिकलाई पलायन हुन नदिन सरकारले पेशा तथा दक्षता अभिवृद्धि तालिमको आयोजना गर्नुपर्ने सुझाब पनि दिइएको छ।
पर्यटन व्यवसायीले विभिन्न क्षेत्रअन्तर्गत सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजस्व, बार्षिक सवारी कर तथा स्थानीय करहरूमा ५० प्रतिशत सहुलियत प्रदान गर्न भन्दै हाललाई एक वर्षको लागि कुनै पनि दण्ड जरिवाना नगर्न पनि माग गरिएको छ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीमा नेपाललाई राखेपछि त्यसको थप असर परेको हो। वायुसेवा सञ्चालक संघले नेपालको आन्तरिक हवाई सेवामा यस घटनाले ४ अर्ब रुपियाँभन्दा बढी आम्दानी घट्ने प्रक्षेपण गरेको छ। संघले हवाई यात्रु घट्ने भएका कारण सरकारसँग राहतको मागसमेत गरेको छ। डलरमा लिइएको ऋण रकमको सावाँ र ब्याजलाई नेपाली रुपियाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउनुपर्ने, हवाई इन्धनमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर हटाउने र हवाई इन्धनको मूल्य ३० प्रतिशत घटाउनुपर्ने संघले सुझाव दिएको छ।