प्रधानमन्त्री ओली अस्पतालबाट छिट्टै डिस्चार्ज हुँदै

0
Shares

न्युज अफ नेपाल, काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्न सकिने उपचारमा संलग्न डाक्टरले बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो हुँदै गएकाले आइतबार वा सोमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने मिर्गौला प्रत्यारोपणमा नेतृत्व गरेका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीले जानकारी दिनुभयो ।

तर बालुवाटार जानेबित्तिकै भेटघाट धेरै हुने भएकाले संक्रमणको जोखिम बढ्ने हुँदा अस्पताल मै अझै केही दिन राख्ने कि घर पठाउने भन्नेबारेमा आफूहरुले छलफल गरिरहेको उहाँले बताउनुभयो ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उनलाई हिडडुल गराउन लागिएको जानकारी दिएका छन् ।

गएको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अहिले अस्पतालको विशेष कक्षमा राखिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकाले उहाँले छिट्टै भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी गर्नुभएको पनि अस्पतालले जनाएको छ ।

१२ वर्षअघि नयाँदिल्लीस्थित एपोलो अस्पतालमा पहिलोपटक उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको छ । उहाँलाई पनि आइतबार वा सोमबार घर पठाउने डाक्टर ज्ञवालीले जानकारी दिनुभयो ।