देशभरको मौसम बदली, हावाहुरीसहित असिना पानी पर्नसक्ने सम्भावना

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ । केही स्थानमा वर्षा समेत हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको पश्चिमी भूभागका केही स्थान तथा मध्य र पू्र्वी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको  मौसमविदले बताएका छन् ।

राति देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ। यस्तै बाँकी क्षेत्रमा आंशिक बदली रहने छ ।

पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पूर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।