कोरोना रोक्न टाक्स फोर्स गठन

0
Shares

सरोज यादव, विराटनगर

कोरोना भाइरस संक्रमितलाई उपचार गर्न २८ शैय्याको आइसोलेसन वार्ड तयार गरिएको छ। प्रदेश–१ मा क्रमणको आशंका गरिएकालाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्न क्वारेन्टाइनस्थलको पनि खोजी गरिरहेको छ।

आशंकित बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न चारवटा अस्पतालमा २८ शैय्याको व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकास मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेश मेहताका अनुसार प्रदेशका ठूला अस्पतालमा २८ शैय्याको आइसोलेसन वार्ड तयार गरिएको हो। विराटनगरस्थित विराट मेडिकल कलेजमा सबैभन्दा बढी १२ वटा आइसोलेसन वार्ड तयार भएको छ।

त्यसै गरी धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १०, कोशी अस्पतालमा ५ र नोबेल मेडिकल कलेजमा आईसीयूसहितको आइसोलेसन वार्ड तयार गरिएको छ। विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेज र मेची अञ्चल अस्पतालमा आइसोलेसन वार्डको तयारी गरिएको छ। कोरोना भाइरसको रोकथाम गर्न आवश्यक तयारीमा प्रदेश सरकार जुटेको डा. मेहताले बताए।

प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउनेछ। अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत मिलाइएको छ। त्यसै गरी कोशी अस्पतालमा प्रदेश आपत्कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ। कोरोनाको संक्रमणको सावधानी अपनाउन प्रदेश–१ सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा टास्क फोर्स गठन गरेको छ।

टास्क फोर्समा ९ सदस्य छन्। ‘छिमेकी मुलुक भारतसहित करोना संक्रमण अरु देशमा झन् तीव्र गतिमा फैलिएको छ,’ निर्देशक मेहताले भन्नुभयो– ‘हामी संक्रमणको जोखिमलाई न्यूनीकरणका उपायमा लाग्ने विधितर्फ केन्द्रित हुनेछौं।’ उहाँले प्रदेशमा सम्भावित बिरामीको नमुना संकलन तथा सावधानीका लागि चिकित्सकले लगाउने सामाग्री खरिद गर्नेलगायतका काम पनि अघि बढ्ने जानकारी दिनुभयो। विशेष प्रकारको हेलमेट, पञ्जा, मास्कलगायतका सामग्री खरिद गर्न सामाजिक विकास मन्त्रालयले बजेटसमेत माग गरिएको छ।

नेपालको पूर्वी सीमानाका काकडभिट्टा, विराटनगरको रानी र इलामको पशुपतिनगर, झापाको भद्रपुरमा विशेष निगरानीको थालनी गरिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार यी नाकाबाट नेपाल भित्रिने विदेशी नागरिकलाई नाकामा विशेष निगरानी गरिनेछ। त्यसका लागि स्वास्थ्यकर्मीसहितको टोली र त्यसको सहयोगका लागि संयुक्त सुरक्षा फौज परिचालन गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो।