स्वास्थ्य बीमा शुरू

0
Shares

डोटी, (नेस)

स्वास्थ्य बीमा कार्यक्रम औपचारिक रूपमा शुरु भएको छ।

दिपायल सिलगढी नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक रूपमा घोषणा गर्नुभएको हो। स्वास्थ्य बीमाका लागि टोलटोलमा खटिने बीमा दर्ता सहयोगीमार्फत औपचारिक रूपमा कार्य प्रारम्भ गरिएको हो। जिल्लामा भएका दुई जना वृद्धलाई स्वास्थ्य बीमा गरेर कार्यक्रमको औपचारिक शुरुआत गरिएको छ।

निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारीलगायतको उपस्थितिमा बीमाको औपचारिक शुरुआत गर्दै राज्यमन्त्री रावतले आम नागरिकको घरदैलोमा पुगेर बीमा गराउने अभियानलाई प्रभावकारी बनाउन सुझाव दिनुभएको छ।

जिल्लाका दुर्गम स्थानका नागरिकलाई बीमाबारे स्पष्ट जानकारी गराउँदै नौवटै स्थानीय तहमा खटिने सहयोगी कार्यकर्ताहरूले आम नागरिकलाई बीमा अभियानमा समावेश गरेर रु १ लाखसम्मको सुविधा पाउने अवसरबाट वञ्चित नगराउन उहाँले सुझाव दिनुभएको थियो।

उक्त बीमा अभियानअन्तर्गत ‘क’ वर्गका अपाङ्गता, ज्येष्ठ नागरिक, एचआईभी संक्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बीमा गरिने जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिनुभयो। त्यस्तै स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको उहाँले बताउनुभयो। एक घरका एकदेखि पाँच जनालाई रु ३ हजार ५ सय र पाँच जनाभन्दा बढी भए प्रतिएक जनाबराबर रु ७ सयका दरले वार्षिक प्रिमियम दर रकम लाग्नेछ।