सिटी र लेस्टर क्वार्टरफाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड वेनस्डे र लेस्टर सिटीले बर्मिङहमलाई समान १–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो। घरेलु टोली सेफिल्डविरुद्ध खेलको ५३औं मिनेटमा सिटीका सर्जियो अगुइरोले गरेको गोल नै निर्णायक सावित बन्यो। अर्काे खेलमा रिकार्डाे पेरेराले खेल सकिन ८ मिनेट बाँकी रहँदा गरेको गोल नै लेस्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो।

त्यस्तै, अर्को खेलमा नर्विचसँग पराजित हुँदै टोटेनह्याम प्रतियोगिताबाट बाहिरिएको छ। टोटेनह्याम नर्विच सिटीसँग पेनाल्टी सुटआउटमा ३–२ ले स्तब्ध हुँदै एफए कपबाट बाहिरिएको हो।

टोटेनह्याम र नर्विचबीचको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। जसमा नर्विचका एडम उचे इडाह, मार्काे स्टेपेरमान र टोड क्यान्टवेलले गोल गर्दा केनी म्याक्लिनले भने गोल गर्न सकेनन्।

टोटेनह्यामका इरिक डिएर र जियोभानी लो सेल्सोले मात्रै गोल गर्न सफल भए। इरिक लमेला, ट्रोए पारोट र गेड्सन फर्नान्डेले गोल गर्न सकेनन्। त्यसअघि खेलको १३औं मिनेटमा जियोभानी लो सेल्सोको पासमा जान भर्टङहेनले गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएका थिए। ७८औं मिनेटमा जोसिप डिर्मिकले बराबरी गोल फर्काएका थिए।