आहा रारा गोल्डकप शुरू

0
Shares

विजय नेपाली, पोखरा

पाेखरामा जारी १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक सहारा क्लबले रोमाञ्चक जित हात पारेको छ।
बिहीबार उद्घाटन खेलमा १० खेलाडीमा सीमित सहाराले बिग्रेड ब्वाइज क्लबलाई ३–२ गोल अन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफ भने निकै रोमाञ्चक बन्न पुग्यो।

दोस्रो हाफमा कुल ५ गोल भएका थिए। सहाराको जितमा त्रिदेव गुरुङले दुई गोल गरेका थिए। बिग्रेडले दोस्रो हाफमा आक्रमक खेल खेल्दै अग्रता लिए पनि जोगाउन भने सकेनन्। खेलको ५८ औं मिनेटमा कजिम ए बुसरीको पासमा राजेश परियारले गोल गर्दै अग्रता लिए पनि अग्रता केही मिनेटका लागि मात्र सीमित रह्यो। सहाराका लागि खेलको ६२ औं मिनेटमा सिएवे उइरिचले निकै उत्कृष्ट गोल गरे। उनले हेडमार्फत गोल गरे।

१–१ गोलको बराबरीमा चलेको खेलको ६३औं मिनेटमा बिग्रेडका लागि विजय गुरुङले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए। तर, सहाराका लागि खेलको ७९औं मिनेटमा त्रिदेवले निकै उत्कृष्ट गोल गर्दै खेल बराबरी बनाए। उनले खेलको सय मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सहाराले अर्को चरण सुरक्षित पार्यो।

त्रिदेवले वान भर्सेस वानको अवस्थामा बिग्रेडका गोलरक्षक विशाल सुनारलाई पास गर्दै जाली चुमाएका थिए। निर्धारित ९० मिनेटको खेल २÷२ गोलको बराबरीमा रोकिएपछि खेलमा ३० मिनेट थप गरिएको हो। थप गरेको समयको पनि पहिलो १५ मिनेट गोलरहित बराबरीमा रोकियो। त्रिदेव म्यान अफ दि म्याच घोषित भए।

खेलको २५औं मिनेटमा बिग्रेडका गोलरक्षक विशाल सुनारलाई फल गर्दै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। पहिलो हाफमै १० खेलाडीमा सीमित सहारामा एकेडेमीका ५ जना खेलाडी सहभागी छन्। एकेडेमीका खेलाडीको वर्चस्व भएको यो पहिलोपटक हो।

सुजल सम्मानित
सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान –२०७६’ बाट सुजल श्रेष्ठ सम्मानित भएका छन्। क्लबले बर्सेनि प्रदान गर्दै आएको उक्त सम्मानमा यसपटक नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य सुजल सम्मानित हुन पाए। सुजललाई नगद ३५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो। क्लबले यसअघि किरण चेम्जोङ र भरत खवासलाई सम्मान गरिसकेको छ।