सुन बैंकमा जम्मा गर्दा अब ब्याज पाइने


नेपाल समाचारपत्र, काठमाडौं

नगदजस्तै अब बैंकमा सुन निक्षेपका रूपमा राख्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै बैंकमा सुन निक्षेपका रूपमा संकलन गर्न पाउने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले लागू गरेको नयाँ व्यवस्था बमोजिम अब लकरमा राखिएको सुनलाई निक्षेपका रूपमा समेत राख्न पाइने भएको छ। जसवापत ग्राहकले ब्याजसमेत पाउनेछन्। सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् नेपाली नागरिकले सम्पत्तिका रूपमा आर्जन गरेको सुनचाँदीलगायत बहुमूल्य धातु बैंकमा निक्षेपको रूपमा जम्मा गर्ने व्यवस्था मिलाइने बताएको थियो।

बजेटमा यस्तो व्यवस्था उल्लेख भएपछि राष्ट्र बैंकले मौद्रिक नीतिमा यससम्बन्धी थप अध्ययन गरी नीतिगत व्यवस्था गरेर कार्यान्यवन गरिने जनाएको थियो। जसअनुसार राष्ट्र बैंकले सुनचाँदी तथा धातुका गहनालाई निक्षेपको रुपमा राख्न मिल्ने व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार ग्राहकले स्रोत खुलाएर कम्तीमा ९९५ फिट्नेसका न्यूनतम २५ ग्राम सुनलाई निक्षेपको रूपमा त्यसको शुद्धताको जाँच गरी वाणिज्य बैंकका केही तोकिएका शाखामा निक्षेपमा राख्न सक्नेछन्।

वाणिज्य बैंकहरूले सुनलाई निक्षेप कुन शाखामा राख्न पाउने हो त्यसको पूर्वसूचना प्रकाशित गर्नुपर्नेछ भने प्राप्त सुनलाई बैंकले अलग सुरक्षित तवरबाट क्यामेराको निगरानीमा राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। ग्राहकले बैंकमा न्यूनतम ३ वर्षदेखि अधिकतम् ५ वर्षसम्मका लागि सुन राख्न पाउनेछन्। साथै ग्राहकले सुनलाई बैंकमा निक्षेपको रुपमा राखेपछि सो प्रमाण–पत्रको आधारमा सोही बैंकबाट ७० प्रतिशत निक्षेपको ब्याजमा २ प्रतिशत थप गरी कर्जा दिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।