असारसम्ममा मेलम्चीको पानी विश्वास गर्ने आधार भेटिएन

0
Shares

डीबी बुढाथोकी, काठमाडौं ।

इटालियन ठेकेदार सीएमसीले बिचैमा छाडेपश्चात् चिनियाँ कम्पनी सिनो हाइड्रोले जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना आगामी असारसम्म पूरा हुने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्र्देशक तिरेशप्रसाद खत्रीले दाबी गर्नुभएको छ। ‘सिनो हाइड्रोले अघिल्ला निर्माण व्यवसायीभन्दा जनशक्ति, उपकरण र विज्ञताकोे हिसाबले निकै अब्बल छ।

नेपालमै कार्य गरिरहेको अनुभवी निर्माण व्यवसायी पनि हो। निर्माण कार्य निकै तीव्र रूपमा अघि बढेको छ। समयबद्ध तालिकामा काम भइरहेकाले असारसम्ममा पानी सुन्दरीजलमा झर्छ’– ‘राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा हालसम्मको प्रगति प्रतिवेदन पेस गर्दै खत्रीले भन्नुभयो।’

इटालियन कम्पनी सीएमसीले काम बिचैमा छोडेर गएपश्चात् आयोजनाको कार्य विभिन्न १० प्याकेजमा विभक्त गरी काम अघि बढाइएको छ। प्रतिवेदनमा आयोजनको कोर कार्य मानिने हेडबक्स र सुुरुङको ठेक्का खुला प्रतिस्पर्धाबाट चिनियाँ कम्पनी सिनो हाइड्रोले गत असोजमा हात पारेको थियो। सिनोले सुरुङ निर्माण ८५ करोड २ लाख र हेडबक्स १ अर्ब २ करोड रुपियाँमा स्वीकार गरेको हो।

उसले असोज १२ मा सुरुङ र असोज २६ मा हेडबक्स निर्माण सम्झौता गरेको थियो। निर्माण सम्पन्न अवधि सम्झौताको मितिबाट सुरुङको १० महिना र हेडबक्सको १५ महिना किटान भएको छ। खत्रीका अनुसार हालसम्म सुरुङको ७५ प्रतिशत र हेडबक्सको ४० प्रतिशत कार्य पूरा भएको छ।

बाँकी ८ प्याकेजमध्ये श्रेष्ठ कन्सट्रक्सनले जिम्मा पाएको रिबर्माको कार्यसमेत सिनोले अघि बढाएको छ। इम्जिम नेपालले जिम्मा लिएको स्टिनलेस तथा डीआई पाइपको भुक्तानी अघि बढेको छ।

एडवेल इन्टरनेसनले जिम्मा लिएको पाइप सप्लाइ दुई लटमा भइसकेको छ भने पाइप सपोर्ट डिजाइनको कार्य सम्पन्न भएको छ। बीएनएनबीले जिम्मा लिएको डीआई पाइप जडानको कार्य पूरा भई परीक्षण भइरहेको छ। प्रिसन इन्फ्राले जिम्मा लिएको हाइड्रो मेकानिकल, गेट खरिद तथा जडानको कार्यअन्तर्गत अम्बाथानमा जडान सम्पन्न भएको छ भने सुन्दरीजलमा परीक्षण थालनी भएको छ।

त्यस्तै, अनुगमन उपकरण खरिद तथा जडान, भेन्टिलेसन साफ्ट जडान अघि बढेको छ। छलफलका क्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले सिनो हाइड्रो सीसीआर र सीएमसीभन्दा सबै हिसाबले उत्तम रहेको जिकिर गर्दै असारसम्म सुरुङको कार्य र पुस मसान्तसम्म हेडबक्सको कार्य पूरा हुने जिकिर गर्नुभएको छ।

राष्ट्रिय सरोकार तथा समन्वय समितका अधिकांश सभासद् भने उक्त कुरा मान्न तयार हुनुभएन। बरु झुटमुटको संज्ञा दिनुभयो। ‘इटालिएन कम्पनी सीएमसी काम छोडर भाग्नु पहिले नै ४५ दिनमा राजधानीमा पानी झर्छ भनेर प्रधानमन्त्रीको डायरीमा नोट गरिएको उही कार्यमध्येको सुरुङलाई १० महिना र हेडबक्सलाई १५ महिनाको समायावधि दिइएको छ। विश्वास कसरी गर्ने ?’– सभासद् रामचन्द राईले आक्रोश पोख्नुभयो।

सभासद् धनकुमारी खतिवडाले कर्मचारीतन्त्र प्रशासनले जनप्रतिनिधिहरूको आँखामा छारो हालेको आरोप लगाउन पछि पर्नुभएन। ‘आयोजनाले हामी जनप्रतिनिधिलाई समेत पटक–पटक झुक्काइरहेको छ। कर्मचारीतन्त्र आफूलाई खुबै जान्ने ठान्दछ। मलाई मेलम्ची आयोजनाको कुरा सुन्न र स्लाइड हेर्नसमेत उदेक लाग्छ।

असारसम्ममा पानी कहाँ आउने हो, सुन्दरी जलको ट्रिटमेन्ट प्लान्टमा वा उपभोक्ताको धारामा प्रस्ट पार्नुपर्यो’, सभासद् खतिवडाले भन्नुभयो– ‘ललितपुरको सात दोबाटोमा बाटो विस्तारको क्रममा बिच्छाइएका पाइपहरू चकनाचुर भएका छन्। पाइप बिच्छाउँदा अन्तर निकाय समन्वयसमेत गर्न नसकिएको अवस्था छ। विगतको व्यवहार हेर्दा असारसम्ममा पानी आउला भनेर विश्वास गर्न कठिन छ।’

कुल ३१ अर्ब ३६ करोड लागत रहेको उक्त आयोजनामा हालसमम्म समष्टिगत भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत र वित्तीय प्रगति ८९ दशमलव ७ प्रतिशत हासिल भएको भए तापनि सीएमसीसँग आबद्ध श्रमिकको बक्यौता भुक्तानी, सीएमसी आबद्ध आपूर्तिकर्ताको बक्यौता भुक्तानी, पानी हस्तान्तरणपश्चात् स्थानीय समुदायलाई प्राप्त हुने प्रतिफलमा साझेदारी, आयोजनाको सुरक्षा र स्थानीयको अनेकन मागजस्ता समस्यावाट आयोजना अझै प्रभावित भएको छ।