क्वात्राद्वारा ओहदाको प्रमाणपत्र पेस

0
Shares

काठमाडौं, (नेस)

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष क्वात्राले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो।

क्वात्रा कार्यभार सम्हाल्न आइतबार काठमाडौं आउनुभएको थियो। ३० वर्ष भारतीय विदेश सेवामा कार्यरत क्वात्राले यसअघि फ्रान्सको राजदूत भएर काम गरिसक्नुभएको छ।

दुई महिनाअघि भारतीय राजदूत मञ्जिवसिंह पुरी दुई वर्षको कार्यकाल सकेर फर्केपछि नेपालमा २५औं भारतीय राजदूतका रुपमा उहाँ नपाल आउनुभएको हो।

सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका क्वात्राले १९९३ सम्म जेनेभास्थित पर्मानेन्ट मिसन अफ इन्डियामा अधिकृत भएर काम गर्नुभएको थियो। उहाँले त्यहीं संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगअन्तर्गत विशेष एजेन्सीसँग सम्बन्धित काम पनि गर्नुभएको थियो।

सो अवधिमा राजदूत क्वात्राले जेनेभाको स्कुल अफ इन्टरनेसनल स्टडिजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा कोर्स पूरा गर्नुभयो। १९९३ देखि २००३ सम्म राष्ट्रसंघको हेडक्वार्टरमा डेस्क अफिसर भएर काम गरेका क्वात्राले दक्षिण अफ्रिका र उज्वेकिस्तानमा डिप्लोम्याटिक मिसनमा जिम्मेवारी पूरा गर्नुभएको थियो।