एसईई परीक्षामा सिन्धुलीबाट ६ हजार परीक्षार्थी

0
Shares

बुद्ध नेपाली, सिन्धुली

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षामा सिन्धुली जिल्लाबाट झन्डै ६ हजार परीक्षार्थी सहभागी हुने भएका छन्। आगामी चैत ६ गतेबाट शुरू हुने यस वर्षको एसईई परीक्षामा जिल्लाबाट ५ हजार ८ सय १३ जना छात्रछात्रा सहभागी हुने भएका हुन्। जसमध्ये ८ जना बहिरा परीक्षार्थीले इसईई परीक्षा दिँदै छन्। जिल्लाकै एक मात्र बहिराले अध्ययन गर्ने विद्यालय नवज्योति बहिरा विद्यालय जशेदमारका कान नसुन्ने ४ जना छात्र र ४ जना छात्रा गरी ८ जनाले एसईईको परीक्षा दिन थालेका हुन्।

यस वर्ष परीक्षामा जिल्लाका १ सय १६ सामुदायिक विद्यालय, २३ वटा निजी विद्यालय, ५ वटा प्राविधिक धारका र एउटा बहिरा विद्यालयका गरी कुल १ सय ४१ वटा विद्यालयका परीक्षार्थी सहभागी हुने शिक्षा समन्वय एकाइ सिन्धुलीका प्रमुख नेत्र गजुरेलले जानकारी दिनुभयो। ग्रेडवृद्धिका लागि १ सय २३ जना परीक्षार्थी परीक्षामा सहभागी हुने उहाँले बताउनुभयो।

जिल्लामा खुला स्कुलबाट ३२ जना परीक्षार्थी परीक्षामा सहभागी हँुदै छन्। प्राविधिक धारतर्फ ५ वटा प्राविधिक विद्यालयका १ सय ८५ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन्। जसमा कृषि प्राविधिकतर्फ १ सय जना र सिभिल इन्जिनियरिङतर्फ ८५ जना परीक्षार्थीले एसईई परीक्षा दिने उहाँले जानकारी दिनुभयो।

जिल्लामा २६ वटा परीक्षा केन्द्र तोकिएको छ। प्राविधिकतर्फका परीक्षा जनज्योति मावि फोस्रेटार परीक्षा केन्द्रमा मात्रै सञ्चालन हुनेछ। ग्रेडवृद्धिका परिक्षार्थीको परीक्षा गौमति माविमा हुने भएको छ। परीक्षालाई मर्यादित बनाउन अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ।