केन्द्र टाढा राखेपछि विद्यार्थीले स्कुल छाडे

गुणस्तर सुधारका लागि टाढा परीक्षा केन्द्र: स्थानीय सरकार

0
Shares

नेपाल समाचारपत्र, धादिङ

एसईईको परीक्षासमेत आफ्नै विद्यालयमा सञ्चालन गर्न शिक्षा मन्त्रालयमा पहल भइरहेका बेला कक्षा ८ को परीक्षा केन्द्रको विवाद उत्कर्षमा पुगेको छ।
परीक्षा केन्द्र धेरै टाढा राखेपछि दक्षिणी धादिङको बाँसखर्क आधारभूत विद्यालयबाट पाँच विद्यार्थीले पढाइ छाडेर मजदुरी गर्न गएको विद्यालयका शिक्षकहरूले बताएका छन्।

कक्षा ८ को फारम नभरेर यसरी पढाइ नै छाड्नेहरूमा तिलक तामाङ, सिर्जना तामाङ, सुन्दिप तामाङ, रिमला तामाङ र मनोज तामाङ रहेको विद्यालयका शिक्षक जीवन तामाङले बताउनुभएको छ। परीक्षा केन्द्र टाढा राखेर विद्यार्थीलाई दुःख दिएको गरिब विद्यार्थीका लागि पालिकाले बेवास्ता गरी धनीका लागि नियम बनाएकाले आफूहरूले परीक्षा छाडेको विद्यार्थीहरूको भनाइ छ।

गाउँपालिकास्तरीय कक्षा ८ को परीक्षा हुने भएकाले बेनिघाट रोराङ गाउँपालिकाको शिक्षा शाखाले परीक्षा केन्द्र निर्धारण गर्दा ६ घन्टाभन्दा बढी हिँड्नुपर्ने गरी परीक्षा केन्द्र निर्धारण गरेको थियो। गाउँपालिकाले पृथ्वीराजमार्ग क्षेत्रका तीनवटा विद्यालयमा मात्र परीक्षा केन्द्र तोकेको छ। बेनीघाट रोराङमा रहेको १७ विद्यालयका ५ सय ६३ विद्यार्थीका लागि बागेश्वरी माध्यमिक विद्यालय, चन्द्रोदय माध्यमिक विद्यालय र शंखादेवी माध्यमिक विद्यालयका लागि परीक्षा केन्द्र तोकेको छ।

महाभारत क्षेत्रबाट परीक्षा केन्द्रमा आइपुग्न ७ देखि ८ घण्टा लाग्छ। गाडी गुड्नका लागि कच्ची बाटोको ट्र्याक खोलेको भए पनि गाउँबाट यातायातका साधन सञ्चालन हुँदैनन्।

अधिकांश गरिब, चेपाङ तथा जनजातिका विद्यार्थी अध्ययन गर्ने भएकाले स्थानीय सरकारले तोकेको परीक्षा केन्द्र धेरै विद्यार्थीका लागि ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको बाल अधिकारका क्षेत्रमा कार्यरत गोकर्ण रूपाखेतीले बताउनुभयो।

बेनीघाट रोराङ गाउँपालिकाको यो प्रतिनिधिमूलक घटना मात्र हो। गाउँपालिकाले पृथ्वी राजमार्गको छेउमा मात्र तीनवटा परीक्षा कन्द्र तोकेर कक्षा ८ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विवाद उत्पन्न भएको हो।

स्थानीय सरकारले आधारभूत विद्यालयको व्यवस्थापन गर्न सक्ने संघीय व्यवस्थापछि विद्यार्थीहरूलाई धेरै टाढा र अपायक पर्ने स्थानहरूमा परीक्षा केन्द्र तोकेपछि समस्या उत्पन्न भएको छ।

शिक्षकहरू गाउँसम्म परीक्षा लिन जान नसक्ने भएकाले परीक्षा व्यवस्थित गर्नका लागि परीक्षा केन्द्र राजमार्ग क्षेत्रका तीन विद्यालयमा मात्र तोकिएको बेनीघाट रोराङ शिक्षा शाखाका अधिकृत बोधराज पाठकले बताउनुभयो। गाउँपालिका प्रमख हरि डल्लाकोटीले एसईईका लागि अनुभव गराउनका लागि र दक्ष जनशक्ति बनाउनका लागि यसरी परीक्षा केन्द्र निर्धारण गरेर परीक्षा सञ्चालन गर्न लागेको बताउनुभयो।

बेनीघाट रोराङकै जस्तो अवस्थामा थाक्रे गाउँपालिकाले १९ विद्यालयका ५ सय ६५ विद्यार्थीहरूका लागि ९ विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ।
यस सन्दर्भका गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले विद्यार्थीलाई अप्ठ्यारो पार्नका लागि यस्तो व्यवस्था गरेको नभई शिक्षाको गुणात्मक विकास गर्न कक्षा ८ को होम सेन्टर हटाइएको बताउनुभयो।

गल्छी गाउँपालिका, गजुरीगाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिकाले पनि विद्यार्थीहरूलाई समस्या पर्ने गरी कक्षा ८ को परीक्षा केन्द्र निर्धारण गरेका छन्।
गल्छी गाउँपालिकाको १५ विद्यालयका ५ वटा परीक्षा केन्द्र, गजुरी गाउँपालिकाको १७ विद्यालयको १२ परीक्षा केन्द्र, धुनीबेंसी नगरपालिकाको २६ विद्यालयका १५ परीक्षा केन्द्रमा र त्रिपुरासुन्दरी गाउँपालिकाको १९ विद्यालयको ८ परीक्षा केन्द्र कायम गरिएको छ।

सिद्धलेक गाउँपालिकाले भने सम्बन्धित विद्यालयलाई नै परीक्षा केन्द्र तोकेको छ। गुणस्तर र मर्यादित बनाउने नबनाउने शिक्षकहरूले नै भएकाले उनीहरूले चाहेमा आफ्नै विद्यालयमा परीक्षा केन्द्र भए पनि केही फरक नपर्ने शिक्षा अधिकृत बलराम अधिकारीले बताउनुभयो।