शान्ति समाजका सबै कार्यक्रम स्थगित

0
Shares

काठमाडौं, (नेस)

एकातिर कोरोना भाइरसका कारण विश्वव्यापी सन्त्रास र जनजीवन अस्तव्यस्त हुँदै गएको अर्कातिर सजगतास्वरूप नेपाल सरकारले जनसहभागिता हुने कार्यक्रम नगर्न आह्वान गरेकोमा शान्ति समाजले स्वागत गरेको छ।

समाजले यसै सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले चैत १ गतेको पुरस्कार वितरण कार्यक्रम, चैत १ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक, गण्डकी क्षेत्र केन्द्रित दोस्रो चरणको हिमालय बचाऔं अभियान, भ्रष्टाचारविरुद्धको जिल्ला जिल्लामा धर्ना कार्यक्रम, वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यसम्बन्धी अभियानअन्तर्गत जिल्ला–जिल्लाको कार्यक्रम र कारागार अनुगमनलगायतका अभियान र कार्यक्रम हाललाई स्थगित गरेको छ।

कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि पूर्वसतर्कता÷सजगता, स्वस्थ भोजन र सफाइ आवश्यक भएको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ। यस्तो प्रकोपबाट बच्न सामूहिक सहकार्य हुनुपर्छ र अत्यधिक सजगता अपनाउनुपर्छ।

यद्यपि, हालै समाजका पदाधिकारीहरूले गरेको चीन सिमानाको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्र र संखुवासभा जिल्लाको मकालुलगायत १ नम्बर प्रदेशका ५ जिल्लाको भ्रमणको अनुभवको आधारमा ती क्षेत्रहरूमा जनजीवन सामान्य रहेको पाइएको छ। विपत्को बेला समस्या समाधानका लागि सबै क्षेत्रबाट सक्दो प्रयास गर्नु र अनावश्यक प्रचारबाजीबाट जोगिनु पनि त्यत्तिकै आवश्यक भएको शान्ति समाजले जनाएको छ।