नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रियसभा नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन्। राष्ट्रिय सभामा २ वर्ष कार्यकाल पूरा भएका १८ सदस्यहरूको स्थानमा गत माघ ९ गते निर्वाचन भएको थियो। निवार्चित सदस्यहरूले बुधबार शपथ लिएका छन्।
तर, राष्ट्रपतिबाट मनोनित हुने एकजनाको भने मनोनयन हुन बाँकी छ। नेकपाले उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले असहमति जनाउँदै आउनुभएको छ। मन्त्रिपरिषद्ले नाम सिफारिस गरेपछि राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान रहेको छ। तर, प्रधानमन्त्री उपचारमा रहेकाले एकजनाको सिफारिस हुन नसकेको हो।
दुई वर्षे कार्यकाल सकिएपछि मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुभएको थियो। तर, राजीनामा दिएको एक दिनपछि बुधबार खतिवडालाई पुनः अर्थमन्त्री बनाइएको छ।
राष्ट्रिय सभामा नवनिर्वाचित सांसदहरूले राष्ट्रिय सभालाई सहमति र सहकार्यको साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन्। नवनिर्वाचित सांसदलाई स्वागत गर्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रिय सभाले विधेयक पारित गर्ने मात्र नभई जनसरोकारको विषयमा पनि महत्व दिँदै गएको बताउनुभयो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले सहकार्य र सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै आर्थिक तथा सामाजिक रूपान्तरणका लागि एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। सभाको शुभारम्भमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यलाई स्वागत गर्नुभएको थियो।
वामदेव गौतम छिट्टै राष्ट्रिय सभाको सदस्य बन्ने
राष्ट्रिय सभाका सदस्यसमेत रहनुभएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका उपाध्यक्ष वामदेव गौतम छिट्टै राष्ट्रिय सभा सदस्यका लागि मनोनित हुने बताउनुभएको छ। उहाँले पार्टीले निर्णय गरिसकेकाले छिट्टै राष्ट्रिय सभा सदस्यमा मनोनित हुने बताउनुभएको हो। राष्ट्रियसभा बैठकपछि बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारबाट फर्केपछि मनोनयनका लागि सिफारिस हुने दाबी गर्नुभयो।
‘प्रधानमन्त्री उपचारका क्रममा भएकाले बुधबारसम्म मनोनयनका लागि कुनै निर्णय भएनन्, उपचारबाट फर्केपछि सिफारिस गर्नुहुन्छ, उहाँले भन्नुभयो। गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने पार्टीको निर्णय कार्यान्वयन हुने उल्लेख गर्दै श्रेष्ठले यस विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताउनुभयो।











प्रतिक्रिया