मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम शुरू

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर ।

बाग्मती प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम प्रदेश अस्पताल भक्तपुरमा शुरू गरिएको छ। पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले औपचारिक कार्यक्रमको उद्घाटन गर्नुभएको हो।

अभियानको शुरुआत गर्दै बस्नेतले स्वास्थ्य नै सबैभन्दा अमूल्य धन भएकोले आफ्नो स्वास्थ्यका लागि सबैले सचेत हुनुपर्ने बताउनुभयो। नियमित रूपमा स्वास्थ्य परीक्षण गरेमा रोगको शुरुआती चरणमै उपचार गर्न सकिने र यसबाट धन र ज्यान दुवै जोगाउन सहयोग मिल्ने उहाँको भनाइ थियो। स्वस्थ समाजको निर्माण गर्नका लागि र जटिल रोगबाट बच्न नियमित स्वास्थ परीक्षण गर्नुपर्ने बस्नेतको धारणा छ.।

भक्तपुर अस्पतालले आफ्नो व्यवस्थापनलाई व्यवस्थित गरी आमनागरिकले उपचारको सहजता प्रदान गर्ने अस्पतालको रूपमा विकसित तथा परिस्कृत गर्न आवश्यकता रहेको औंल्याउनुभयो।

भक्तपुर अस्पतालमा भएका विकृति र विसंगतिलाई हटाउन आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अस्पतालमा विगतमा समस्याको समाधान गर्ने नभई बहानामा प्रस्तुत हुने गरेको बताउनुभयो।

अस्पतालमा रहेका समस्या समाधान र विवादलाई समाधान गर्नु नेतृत्वको मुख्य जिम्मेवारी रहेको औंल्याउँदै उहाँले अस्पतालमा समन्वयको अभावका कारण समस्या उत्पन्न भएको बताउनुभयो।

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधिको सिफारिसमा अति गरिब, महिला, दलित र विपन्नलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ। परीक्षण कार्यक्रम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको पहलमा शुरू भएको हो।

अस्पतालमा चांगुनारायण र सूर्यविनायक नगरपालिकाका वडाको सिफारिस लिएर आउने अति विपन्न, दलित, जनजाति, लोपोन्पोन्मुख, शहीद परिवारलगायत द्वन्द्व पीडित नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। आर्थिक स्थिति मध्यम भएकालाई २५ प्रतिशत छुटका साथ स्वास्थ्य परीक्षण गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद कृष्णलाल भँडेल, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, चांगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोला, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, अस्पताल प्रशासन शाखा प्रमुख राजेन्द्र नेपाललगायतले कार्यक्रम राम्रो योजनाका साथ शुरू गरिएकोले सफलताका लागि कामना गर्नुभयो।

आर्थिक अभावका कारण आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिन नसक्ने समूहलाई लक्षित गर्दै प्रदेश सरकारले विभिन्न नसर्ने रोगको पहिचान गर्नेगरी कार्यक्रम ल्याएको अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले बताउनुभयो।कार्यक्रमअन्तर्गत २ हजार४ सय ६६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिने उहाँले बताउनुभयो।

सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष ०७५÷०७६ मा नमुनाका रूपमा पाँच जिल्लामा कार्यक्रम लागू गरेको थियो। कार्यक्रम प्रभावकारी देखिएपछि प्रदेश–३ का १३ वटै जिल्लामा लागू गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा अस्पतालमा व्यापक सुधार आवश्यक रहेकोमा सबै सहभागीले जोड दिँदै अस्पतालले मुहार फेर्नुपर्ने बताउनुभएको थियो। अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले अबको ६ महिनामा भक्तपुर अस्पताललाई अध्यक्ष सुवाल, व्यवस्थापन समिति, चिकित्सक, कर्मचारी र सरोकारवाला सबैको साथ लिएर व्यवस्थित र सेवा सुविधा सम्पन्न गराउने कोसिस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भक्तपुर अस्पतालाई रिफर सेन्टरको रूपमा मात्र परिणत भएको र अनियमितताको अखडा बनेको आरोप लाग्दै आएको छ।