तालिवान अमेरिका सम्झौता खतरामा, अमेरिकी सेनाद्वारा तालिवान लडाकूमाथि हवाई हमला

0
Shares

काबुल, (एजेन्सी)

अफगान तालिबान–अमेरिकाबीच सम्झौता भएको एक हप्ता नबित्दै दुईबीच संघर्षको स्थिति उत्पन्न भएको छ। अमेरिकाले बुधबार तालिबानका लडाकूविरुद्ध हवाई हमला गरेको छ। दक्षिणी हेलमन्द प्रान्तमा अफगान सेनामाथि भएको हमलामा अमेरिकी सेनाले विगत ११ दिनपछि पहिलोपटक जवाफी कारबाही गरेको हो।

उक्त आक्रमणको जानकारी अमेरिकी सैन्य प्रवक्ताले दिएका हुन्। तालिवानद्वारा गरिएको भनिएको हमलामा अफगान सेना र प्रहरीका कम्तिमा २० सुरक्षाकर्मीको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिए।

प्रान्तिय काउन्सिलका सदस्य सैफुल्लाह अमिरीले भने– ‘तालिवान लडाकूहरुले गत राति कुन्दुजको इमाम साहिब जिल्लामा सेनाका कम्तिमा तीन चौकीमा हमला गरे। हमलामा कम्तिमा १० सैनिक र ४ प्रहरीको मृत्यु भयो।’

अफगानिस्तानमा अमेरिकी बलका प्रवक्ता सोनी लेगेटले बुधबार हेलमन्दको नहर–ए–सराजमा रहेका तालिवान लडाकूविरुद्ध अमेरिकी सेनाले हवाई हमला गरेको र उनीहरु एक सैन्य चौकीलाई निसाना बनाइरहेको जानकारी दिए।

लेगेटले ट्विटमा तालिवान हमलापछि जवाफी कारबाही गरिएको उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुलाई तालिवानका प्रमुख नेतासँग उनको अत्यन्त राम्रो वार्ता भएको बताएको केही समयपछि नै हवाई हमलाको समाचार आएको हो।

शनिबार मात्रै तालिवान र अमेरिकाबीच विदेशी सेना हटाउने सम्बन्धमा ऐतिहासिक सम्झौता भएको थियो। हालै दोहामा भएको उक्त सम्झौतापछि तालिवान लडाकूहरुले अफगानी सेनाविरुद्ध हमला गरेका थिए। लेगेटले भने– ‘हामीले तालिवानलाई अनावश्यक हमला रोक्न र आफ्नो प्रतिबद्धता पूरा गर्न भन्यौं। हामीले जब आवश्यक पर्छ।आफ्ना साथीलाई बचाउने पनि भनेका थियौं।’

हेलमन्दमा सुरक्षा चौकीहरुमा मंगलबार मात्रै घूसपैठ गर्ने लडाकूहरुले ४३ हमला गरेको लेगेटले जानकारी दिए। मंगलबार राति मध्येउरुजगान प्रान्तमा पनि लडाकूहरुले प्रहरीमाथि हमला गरेका थिए। उक्त हमलामा ६ प्रहरी मारिएको र ७ घाइते रहेको गभर्नरका प्रवक्ता जरगई इबदीले बताए।

दोहामा अमेरिका र तालिवानबीच हस्ताक्षर भएको शान्ति सम्झौतामा १४ महिनामा विदेशी सैनिकले अफगानिस्तान छोड्ने उल्लेख छ। सम्झौताअनुसार मार्च १० बाट अन्तर अफगान वार्ता शुरू हुने भनिएको छ। तर कैदी साटासाटको विषयमा उत्पन्न विवादले सम्झौताको पालनामा प्रश्न उठेको छ।