अमेरिकी राष्ट्रपति चुनाव, सुपर ट्युजडेको प्राइमरीमा सेन्डर्सलाई पछाडि पार्दै बाइडेन अगाडि

0
Shares

वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति चुनाव डेमोक्र्याटिक पार्टीका तर्फका उमेदवारको दौडमा पूर्वउपराष्ट्रपति तथा मध्यमार्गी जोइ बाइडेनले सुपर ट्युजडे प्राइमरीमा वामपन्थी बर्नी सेन्डर्सविरुद्ध कयौं राज्यमा जित हासिल गर्न सफल भएका छन्।

उमेदवारमा चयनका लागि प्रत्येक राज्यबाट अनुमोदन पाउने प्रक्रिया प्राइमरीमा आफ्ना प्रत्यासीलाई पछि पार्दै अगाडि आउने आकांक्षीले पार्टीको उमेदवारी प्राप्त गर्ने प्रावधान रहेको छ। डेमोक्र्याट पार्टीको प्राइमरीबाट छनौट भएर आउने राष्ट्रपति उमेदवारले नै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा चुनौती दिनेछ।

१४ राज्यमा भएको प्राइमरीमा १० राज्यमा पूर्वउपराष्ट्रपति बाइडेन आफ्ना प्रत्यासी सेन्डर्सलाई उछिन्न सफल भएका छन्। वाइडेनको यो जितलाई अप्रत्यासित मानिएको छ। बाइडेनले सेन्डर्स लोकप्रिय रहेको भर्जिनियामा पनि अप्रत्यासित जितेको छ। त्यसैगरी अलाबामा, अर्कान्सस, म्यासाच्युसेट्स, मिनिसोटा, नर्थ क्यारोलिना, ओक्लाहामा, टेनेस्सी र टेक्ससमा सेन्डर्सलाई पछाडि पार्दै बाइडेन अगाडि आएको छ।

सेन्डर्सका लागि सुपर ट्युजडे प्राइमरी अनुमान गरेको जस्तो उत्साहपूर्ण नरहे पनि क्यालिफोर्निया र युटाहाजस्ता महत्वपूर्ण राज्य आफ्ना हात पार्न उनी सफल रहे। सेन्डर्सले क्यालिफोर्निया, युटाहा, भर्मोन्ट र कोलोराडोको प्राइमरीमा जित हासिल गरेको छ।

आक्लाहामा र मिनिसोटामा सेन्डर्सको हारलाई अप्रत्यासित मानिएको छ। सन् २०१६ मा ती राज्यमा उनले हिलारी क्लिन्टनलाई हराएका थिए। अमेरिकाको दक्षिणी हिस्सामा अफ्रिकी मुलाका अमेरिकीहरुको बलियो समर्थन बाइडेनको पक्षमा देखिएको। बाइडेन पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति रहेका थिए। ओबामा प्रथम अश्वेत अमेरिकी राष्ट्रपति हुनुले पनि उनीप्रति उक्त समुदायको झुकाव रहेको अनुमान गरिएको छ।