विश्व बैंकको कोरोना प्रभावित मुलुकलाई आर्थिक सहयोग

0
Shares

न्युयोर्क, (एजेन्सी)

विश्व बैंकले विकासोन्मुख मुलुकहरुलाई कोरोना भाइरस महामारीविरुद्ध लड्नका लागि १२ अर्ब अमेरिकी डलर सहयोग गर्ने बुधबार प्रतिबद्धता जनाएको छ। यस आपत्कालिन प्याकेजअन्तर्गत ती मुलुकलाई न्युन ब्यजमा ऋण, अनुदान र प्राविधिक सहयोग प्रदान गरिने भएको छ।

विश्वभरिका नेताहरुले आफ्ना मुलुकलाई कोरोना भाइरसका कारण हुने आर्थिक मारबाट बचाउन गुहार्न थालेकाले विश्व बैंकले यो कदम चाल्न थालेको हो। महामारीको सामना गर्ने क्रममा त मलुकहरुमा आर्थिक मन्दी आउन सक्ने सम्भावना पनि अर्थविद्हरुले औंल्याउँदै आएका छन्।

विश्व बैंक समूहका अध्यक्ष डेविड माल्पासले बीबीसीलाई बताएका छन्,‘यो सहयोगको उद्देश्य महामारीको क्रममा ती विकासोन्मुख मुलुकका जनस्वास्थ्यमा सुधार ल्याउनु तथा निजी क्षेत्रसंग मिलेर आर्थिक पक्षमा नकारात्म असर पर्न नदिनु हो। हामीले हरसम्भव प्रयास गरी कोरोना भाइरस संक्रमणमा कमी ल्याउने कोसिस गरिरहेका छौं। अहिलेसम्म विश्वका ७० वटा भन्दा बढी मुलुकमा कोरोना भाइरस संक्रमित भेटिइसकेका छन्।

विश्व बैंकले सबैभन्दा गरिब तथा बढी महामारीको खतरा रहको मुलुकलाई प्राथमिकता राख्दै उक्त अनुदान ऋण सहयोग वितरण गरिने जानकारी पनि दिएको छ। यस प्याकेजको ५० प्रतिशत निजी क्षेत्रसंग मिलेर काम गर्ने बैंकको इन्टरनेसनल फाइनान्स कर्पोरेसनबाट आउने भएको छ।

साथै १२ अर्ब डलरमध्ये करिब ४ अर्ब डलर पहिल्यै छुट्याइएको कोषबाट ल्याइने भएको छ। विश्व बैंकका अनुसार स्वास्थ्य सुविधा प्रणाली कमजोर रहेका, सीमित आर्थित श्रोत रहेका तथा कोरोना महामारी शुरू भएको मुलुक चीनसँग निकट आर्थिक सम्बन्ध रहेका मुलुकहरु बढी मात्रामा जोखिममा परेका छन्।

वर्तमान मूल्यांकन र परिस्थितिअनुसार श्रीलंका, फिलिपिन्स र भियतनामको अर्थतन्त्रमा महामारीको सबैभन्दा नकारात्मक प्रभाव परेको मानिएको छ।
बुधबारसम्मको तथ्यांकअनुसार विश्वभरि ९२ हजार जनाभन्दा बढी मानिस कोरोना भाइरस संक्रमित भइसकेका छन्। तीमध्ये ८० हजार जनाभन्दा बढी चीनमै रहेका छन्। विश्वभरि यस महामारीका कारण ३ हजारजना भन्दा बढीको ज्यान गइसकेको छ।

चीनपछि धेरै संक्रमित हुने मुलुक दक्षिण कोरियामा बुधबार ५ सय १६ जना मानिसमा संक्रमण पुष्टि भएपछि संक्रमितको कूल संख्या ५ हजार ३ सय २८ पुगेको छ। त्यहँँ मृतकको संख्या ३३ पुगेको छ।