गण्डकी विकास बैंकले एकैसाथ चार शाखा


पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकले काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा एवम् भक्तपुरको थिमीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी एकैसाथ चार वटा शाखा कार्यालयको औपचारिक रुपमा उद्घाटन गरेको छ। भक्तपुरको थिमी शाखाको उद्घाटन बैंकका अध्यक्ष सुशील गौचनले गर्नुभएको थियो भने जोरपाटी शाखा, बालुवाखानी शाखा र जरंखु शाखाको उद्घाटन क्रमशः बैंकका सञ्चालकत्रय बासुदेव त्रिपाठी, नारायणबहादुर बानियाँ एवं किशोर ओझाले गर्नु भएको थियो। बैंकको ९५ स्थानमा शाखा सञ्जाल रहेको जनाइएकोछ। भक्तपुरको थिमीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष सुशील गौचनले गण्डकी विकास बैंक मोफसलमा स्थापना भई राष्ट्रियस्तरमा आफ्नोस्तर उन्नती गर्र्दै मुलुकभर ठूलो बैंकिङ सञ्जाल स्थापना गर्न सफल बैंक भएको बताउनुभयो। बैंकका प्रमुुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गण्डकी विकास बैंक तीन वटा वित्तीय संस्था गाभिएर बनेको राष्ट्रियस्तरको विकास बैंक भएको र लगातार यसले लगानीकर्तालाई उच्चतम् प्रतिफल दिन सक्षम बैंक भएको बताउनुभयो।
विकास बैंकको कुल चुक्तापुँजी २ अर्ब ७५ करोड रहेको छ, पुस मसान्तसम्ममा कुल निक्षेप ३४ अर्ब २५ करोड संकलन गरी २७ अर्ब ५३ करोड कर्जा प्रवाह गर्न सफल भएको छ। अब उपरान्त बैंकले मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै एटीएमबाट निरन्तर सेवा प्रदान गर्नेछ। बैंकले गत आवसम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १७ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ।