दार्जिलिङलाई हराउँदै मच्छिन्द्र फाइनलमा

0
Shares

नेपाल समाचारपत्र, इलाम

मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब जारी माइभ्याली गोल्डकपको फाइनलमा पुगेको छ।

मच्छिन्द्रले दोस्रो सेमिफाइनलमा आयोजक र त्रिभुवन आर्मी क्लब बीचको बिजेतासँग शनिबार हुने फाइनलमा भिडन्त गर्नेछ। यता दार्जिलिङको यो हारसँगै भारतका चारवटै फुटबल क्लबहरू माइभ्याली गोल्डकपबाट बाहिरिएको छ। यस प्रतियोगितामा भारतका नागाल्यान्ड एफसी, मोहम्मडन स्पोटिङ क्लब कोलकत्ता र ग्यान्टोक सिटी एफसी सिक्किमले सहभागिता जनाएको थियो।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुरै समय दबाबमा परेको दार्जिलिङले खेलको १९औं मिनेटमा पहिलो गोल खान पुगेको हो। डिबक्सभित्र गोलरक्षक फ्रोलिक्सन डिखर बिट भइसकेको अवस्थामा रजिन सुब्बाले गोल गर्दै शुरुआती अग्रता दिलाए। राष्ट्रिय टिमका पूर्वकप्तान बिराज महर्जन, बिमल घर्तीमगरसहितका चर्चित खेलाडीहरूले भरिएको मच्छिन्द्रले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। खेलको २१औं मिनेटमा रजिन धिमालको कर्नर प्रहारमा एडिल्जा सोमिडले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए।

पहिलो हाफमा फितलो प्रदर्शन गरेको दार्जिलिङले भने दोस्रो हाफमा भने केही सुधारिएको खेल पस्केको थियो। तर मच्छिन्द्रको डिफेन्स लाइन र गोलरक्षक विशाल श्रेष्ठ बाधक बन्दा दार्जिलिङले गोलपोस्टमा खेल अवधिभर एकपटक पनि सशक्त प्रहार गर्न सकेन। खेलको ४३औं मिनेटमा वान भर्सेस वानको अवस्थामा दार्जिलिङका दमाङ चेन गोल गर्न चुकेपछि गोल अन्तर घटाउने मौकासमेत गुमाएको थियो। एकपछि अर्को पोस्ट आक्रमण गरेको मच्छिन्द्रले दोस्रो हाफमा १ गोल गरेको थियो।

पिनीसाई लाथोङको गल्तिको फाइदा उठाउँदै ८६औं मिनेटमा मच्छिन्द्रका तर्फबाट पुनः रेजिन सुब्बाले गोल गर्दै फराकिलो गोल अन्तर पुर्याए भने उनको व्यक्तिगत दुई गोल पनि भएको छ। प्रतियोगितामा मच्छिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दि म्याच घोषित भए। उनले नगद १० हजार रुपियाँ प्राप्त गरे।