उद्घाटन खेलमा आयोजक र बिग्रेड ब्वाइज भिड्ने

0
Shares

नेपाल समाचारपत्र, पोखरा

१८औँ संस्करणको आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र बिग्रेड ब्वाइज क्लब भिड्ने भएका छन्।

आजबाट शुरु हुने प्रतियोगितामा आयोजक, ‘ए’ डिभिजन क्लबहरू र विदेशी क्लबसहित १० टिमको सहभागीता रहेको छ। प्रतियोगितामा आयोजक सहारा क्लब पोखरा, झापा ११, ए डिभिजन क्लबहरू रुसलान थ्री स्टार, नेपाल आयल निगम मनाङ मस्र्याङ्दी, बिग्रेड ब्वाइज क्लब, संकटा क्लब तथा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ र नेपाल पुलिस र भारतको गान्टोक सिटी फुटबल क्लबले सहभागीता रहको छ।

‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब भने सहभागी भएको छैन। एन्फाले प्रतियोगिता मिति तय गरेअनुसार नै १० टिमको सहभागीता भएको हो । यस्तै प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपियाँ पाउनेछन् भने उपविजेताले ५ लाख १ हजार रुपियाँ पाउनेछन्।

प्रतियोगिताबाट १ करोड १८ लाख १ हजार रुपियाँ आम्दानी र ९९ लाख ३८ हजार ५ सय रुपियाँ खर्च हुने अनुमान आयोजकको छ। प्रतियोगिताबाट बचत हुने रकम क्लबले सञ्चालन गर्दै आइरहेको एकेडेमीका लागि खर्च गर्नेछ। एकेडमीमा १४ जिल्लाका २४ जना बालक आश्रित छन्। निमार्णधीन रंगशालाको फुटबल मैदानमा हुने प्रतियोगिताको दर्शक सिट क्षमता भने १३ हजार ५ सय मात्र हुनेछ।

यस्तै सरकारले भिडभाड, मेला महोत्सवलगायत धेरै मानिस नबस्न अग्रह गरिरहदाँ भने प्रतियोगिता आयोजना हुने भएको हो। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि गण्डकी प्रदेशले मानिस भिडभाड र २० जनाभन्दा बढी नहिँड्न आग्रह गरेको छ। यति मात्र होइन चिकित्सकहरूले पनि पोखरालाई कोरोनाको जोखिममा रहेको बताइरहँदा प्रतियोगिता भने आयोजना हुने भएको हो। साहारा क्लबका लागि यो चुनौतिको
विषय हो।

प्रशासनले कोरोनाबाट जोगिनका लागि सचेतना फैलाउँदै गरिरहँदा साहारा क्लबले भने प्रतियोगिताको आयोजना रोकेको छैन। विश्वमै निकै त्रास र सयौँ मानिसको ज्यान लिइरहँदा प्रतियोगिता बारे गहन भएर राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ (एन्फा) तथा जिल्ला प्रशासन कार्यालय कास्कीले समेत बेवास्ता गरिरहेको आरोप आइरहेको छ।