भारतले लगायो औषधिमा प्रतिबन्ध

0
Shares

भगवती तिमल्सिना, काठमाडौ
विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै भारतले अब कुनै पनि मुलुकमा निर्यात नगर्ने सूचना जारी गरेको छ। सामान्य दुखाइदेखि जटिल अवस्थामा विश्वमा सबैभन्दा बढी प्रयोग हुने सिटामोललगायतका १५ प्रकारका औषधि निर्यात नगर्ने घोषणा गरेलगतै बुधबार सरोकारवाला निकायको बैठकले नेपाल र भारतको वाणिज्य विभागसँग समन्य गर्ने निष्कर्ष निकालेको छ।
बैठकमा सहभागी मृगेन्द्र मेयर श्रेष्ठ औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्षका अनुसार हाल आत्तिनुपर्ने अवस्था नभएको अन्य मुलुकबाट सहजीकरणका लागि ताइवान, बैंककबाट माक्स र औषधि आयात गर्ने निर्णय भएको छ। बैठकमा स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, व्यवसायी, वाणिज्य विभाग, औषधि उत्पादक संघलगायतको उपस्थिति रहेको थियो।
यी कार्यका लागि सहजीकरणका लागि नेपाल सरकारले पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन्। प्यारासिटामोल र ओम्पेराजोलजस्ता १५ प्रकारका जेनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि संसारभरि औषधि अभाव हुने त्रास बढेको विषयमा नेपाल भने अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन। तर, पनि नेपाल र भारतका उद्योग तथा वाणिज्य मन्त्रालयका बीच औषधिजस्तो संवेदनशील वस्तुको महत्वलाई ध्यानमा राखी वार्ता हुनु जरुरी भएको निष्कर्ष निकालियो श्रेष्ठले बताउनुभयोे।
औषधि बंंगलादेशबाट पनि आयात हुने हुनाले बंगलादेशको वाणिज्यसँग पनि छलफल गर्ने विषयमा बैठकमा छलफल भएको छ। हालसम्म सबैभन्दा धेरै औषधि आपूर्ति गर्ने देश भारत भएको र प्रतिबन्ध लगाइ नसकेको अवस्थामा तत्काल नै वार्ता गर्नुपर्छ भन्ने प्रस्ताव हामीले राखेको श्रेष्ठले बताउनुभयो।
औषधि उत्पादक कम्पनीहरूको तथ्यांकअनुसार भारतका औषधि निर्माताहरू ७० प्रतिशत कच्चा पदार्थका निम्ति चीनमा निर्भर छन्। त्यसैले, पनि भारत यो निर्णय लिन बाध्य भएको हुन सक्छ। नेपालको पनि कच्चा पदार्थ सप्लाई गर्ने सबैभन्दा ठूलो निकाय चीन नै भएको श्रेष्ठले जानकारी गराउनुभयो। कोरोना भाइरसका कारण चीन र भारत दुवै प्रभावित भएको खण्डमा विश्वभरि नै औषधिको अभाव हुने विज्ञहरूको निष्कर्ष रहेको छ।
भारतद्वारा जारी गरिएको सूचनाअनुसार निर्यात नियन्त्रण गर्ते सामग्री र औषधि भारतीय औषधि उत्पादकहरूको कुल निर्यातको १० प्रतिशतको हाराहारीमा हुन आउँछ। विशेषगरी टिनिडाजोल र इरिथ्रोमाइसिनजस्ता एन्टिबायोटिक, हर्मोन प्रोजेस्टरोन र भिटामिन बी १२ पनि पर्छन्।
हालसम्म ४५ प्रतिशत औषधि स्वदेशी कम्पनीबाट नै पूर्ति भएको अवस्था छ। बंगलादेशबाट पनि औषधि आयात हुन्छ। कच्चा पदार्थ तेस्रो मुलुकबाट ल्याएर भए पनि समस्याको समाधान गर्नुपर्ने हाम्रो निष्कर्ष रहेको छ।
नेपालमा हाल माक्स र स्यानिट्याइजरमा समस्या भएको हो। यसमा सहजीकरणका लागि तेस्रो मुलुकबाट आयात गर्नुपर्छ भन्ने विषयमा छलफल भएको छ। हाल नेपालमा माक्स उत्पादन गर्ने ३ वटा कम्पनीमा एउटाको मेसिन बिग्रिएको र दुईवटाले आवश्यकताअनुसारको उत्पादन गर्न कच्चा पदार्थको अभाव भएको जनाएका छन्।