सर्वोच्चमा पनि सतर्कता

0
Shares

विकास भट्टराई, काठमाडौं । 

न्यायाधीशलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनबाट रोक्नका लागि बुधबारबाट सर्वोच्च अदालतमा सतर्कता अपनाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराको इजलाससहित सर्वोच्चको १० वटै इजलासमा न्यायाधीश रहने इजलास र कानुन व्यवसायीहरूले बहस गर्ने ठाउँको दूरी बढाइएको छ।

देशमा कोरोना भाइरसको सन्त्रास फैलिएको बेलामा सर्वोच्च अदालतमा पनि न्यायाधीशलाई यसबाट जोगाउनका लागि बहस गर्दा न्यायाधीश र कानुन व्यवसायी रहने दूरी बढाइएको हो।

न्यायाधीशहरू कोरोनाको भाइरसबाट जोगिनका लागि अपनाइएको सो कदम उचित भए पनि कानुन व्यवसायीहरूका लागि पनि उपयुक्त कदम चालिनुपर्ने स्वयं कानुन व्यवसायीहरूको भनाइ छ। नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय सदस्य एवं अधिवक्ता ज्ञानेन्द्र अधिकारीले न्यायाधीशहरू आफू बस्ने इजलास र कानुन व्यवसायीहरू उभिएर बहस गर्ने दूरी बढाएको उचित भए पनि केही कुरामा सुधार गर्नुपर्ने सुुझाव दिनुहुन्छ।

अधिवक्ता अधिकारी भन्नुहुन्छ– ‘कानुन व्यवसायी र सेवाग्राही बस्ने ठाउँ एकै ठाउँमा राखिएको छ। यसले गर्दा कानुन व्यवसायीमाथि कोरोना भाइरसबाट जोगिन कुनै कदम अदालतले नचालेको हो कि भन्ने देखिएको छ। यसमा अदालतले केही सोच्नुपर्छ।’

सर्वोच्चमा प्रधानन्यायाधीशको इजलास छुट्टै छ। त्यसलाई पूर्ण इजलास भनेर चिनिन्छ। बुधबार र शुक्रबार सोही इजलासमा संवैधानिक इजलास पनि लाग्ने गर्दछ। सो इजलासमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश रहने गर्दछन्। यसका अतिरिक्त सर्वोच्च अदातमा अन्य १० इजलास रहेका छन्। ती सबै इजलासमा न्यायाधीश रहने इजलास र कानुन व्यवसायीहरूले उभिएर बहस गर्ने दूरी बढाइएको छ।

पहिले हरेक इजलासमा शुरूमा न्यायाधीश बस्ने इजलास र इजलासको कुर्सी रहने गर्दथ्यो। सो कुर्सी नजिकै कानुन व्यवसायी उभिएर बहस गर्ने ठाउँ हुन्थ्यो। त्यसको पछाडि अदालतका सेवाग्राही बस्ने उल्लेख्य मात्रामा बेन्चहरू रहेका हुन्थे। तर, बिहीबारबाट सम्पूर्ण इजलासबाट सेवाग्राही बस्ने अधिकांश बेन्च झिकिएका छन् भने कानुन व्यवसायीहरूले बहस गर्ने ठाउँ पनि धेरै पछि राखिएको छ। अधिवक्ता अधिकारीले कानुन व्यवसायीहरूलाई पनि कोरोना भाइरसबाट सुरक्षित हुने वातावरण बनाउन जरुरी भएको नेपाल समाचारपत्रसँग बताउनुभयो।

उता अदालतका कर्मचारीहरू पनि कोरोना भाइरस आफूहरूलाई सर्ने हो कि भन्नेमा सन्त्रासमा रहेका छन्। सर्वोच्चका एक कर्मचारीले न्यायाधीशहरू सुरक्षित भएको अन्यथा भन्न नमिल्ने उल्लेख गर्दै अदालतका कर्मचारीहरुको बारेमा पनि सोच्नका लागि आवश्यक भएको बताए।

ती कर्मचारीले भने– ‘विश्वमा कोरोना भाइरस फैलिएको देखेर अदालतमा पनि सुरक्षित हुने कुरा सकारात्मक नै हो। तर, यस बारेमा सर्वोच्च अदालतको फुलकोर्टले कर्मचारीहरूको बारेमा पनि सोचिदिए धेरै नै उत्तम हुने थियो।’ अदालतमा सेवाग्राही सबैभन्दा बढी सम्पर्क हुने कर्मचारीसँग नै हो।