सबै एसईई परीक्षा केन्द्रमा हेल्थ डेक्स

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं । 

सरकारले एसईई परीक्षा केन्द्रमा हेल्थ डेक्स राख्ने तयारी गरेको छ। करिब ५ लाखभन्दा बढी विद्यार्थीको सहभागिता हुने परीक्षामा सबै केन्द्रमा हेल्थ डेक्स राख्ने तयारी गरेको हो।

डेक्स स्थापना गर्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गरेको थियो। शिक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी डेक्स राख्ने तयारी गरेको छ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षा दिन केन्द्रमा आएका विद्यार्थीलाई ज्वरो आएमा वा रुघाखोकी लागेमा आइसोलेसनमा राख्ने व्यवस्था गर्न लागिएको जानकारी दिँदै भन्नुभयो– ‘आइसोलेसनमा राखेर परीक्षा दिन लगाउनेछौं, आवश्यक परे तत्काल अस्पताल लैजाने व्यवस्था गर्ने तयारी गरेका छौं।’

बोर्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई परीक्षा तयारीको विषयमा जानकारी गराउँदा हेल्थ डेक्स राख्न अनुरोध गरेको थियो। मन्त्री पोखरेलले सो विषयमा तयारी भइरहेको जानकारी गराउनुभएको बोर्डका अधिकारीले बताउनुभयो।

बोर्डले परीक्षा केन्द्रमा स्यानटाइजर राख्ने, केन्द्रको कक्षाकोठालगायत सबै क्षेत्रमा सफाइ गर्ने, परीक्षामा सहभागी विद्यार्थीलाई अनिवार्यरूपमा माक्स प्रयोग गरेर परीक्षामा सहभागी हुन सूचना जारी गर्ने तयारी गरेको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एसईई परीक्षा केन्द्रमा सबै किसिमका सावधानी र सतर्कता अपनाउन सम्बन्धित जिल्ला शिक्षा समन्वय समिति र संघीय मन्त्रालयमार्फत स्थानीय सरकारलाई निर्देशन दिने तयारी भइरहेको जानकारी दिनुभयो।

कोरोना भाइरस संक्रमण हुन सक्ने आशंका देखिएपछि मन्त्रालयले सबै परीक्षालाई ५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिइसकेको छ। सोहीअनुसार बुधबार काठमाडौं र ललितपुर महानगरपालिका शिक्षा विभागले कक्षा ८ को नयाँ तालिका सार्वजनिक गरेको छ।

ललितपुरले चैत २७ र काठमाडौंले २८ गतेदेखि सञ्चालन गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। दुई महानगरपालिकाले ५ गतेसम्म परीक्षा सक्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। यसअघि चैत ६ गतेदेखि परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो।

गत वर्षदेखि कक्षा ८ को परीक्षा स्थानीय तहले सञ्चालन गर्ने गरेको छ। यो वर्ष विद्यालयमै केन्द्र (होम सेन्टर) गर्ने गरी तालिका परिमार्जन गरेको हो।
दुवै विभागले चैत १५ भित्र प्रश्नपत्र परीक्षण गरी महानगरलाई बुझाउन निर्देशन दिएको छ। देशैभरका स्थानीय तहले चैत ५ गते सम्पन्न हुने गरी तालिका परिमार्जन गरेको छ।

निजी विद्यालयका संगठन प्याब्सन र एनप्याब्सनले सबै विद्यालयमा ५ गते परीक्षा सक्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। मन्त्रालयले कक्षा १२ र ११ को परीक्षाको विषयमा सबै तालिका यथावत रहेको जनाएको छ। ‘अवस्था हेरेर थप निर्णय गर्ने तयारीमा छौं।’ –मन्त्रालयका प्रवक्ता शर्माले भन्नुभयो।

एसईई र कक्षा ११ र १२ को परीक्षा व्यवस्थापन गर्न समस्या पर्ने भएकाले तोकिएकै मितिमा सञ्चालन गर्ने गरी तयारी थालेको जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘सावधानी अपनाएर तोकेकै समयमा परीक्षा सम्पन्न गर्ने तयारी गरेका छौं।’