कांग्रेसका कार्यक्रम सबै स्थगित

0
Shares

काठमाडौं, (नेस)
कोरोना भाइरस (कोबिड–१९) को उच्च जोखिमलाई ध्यानमा राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टी एवं पार्टीसँग आबद्ध संस्थाहरूका सबै तहका ठूला भेला, सम्मेलन, सभालगायतका कार्यक्रम स्थगित गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अर्को सूचना नगरिएसम्मलाई पार्टीका सबै कार्यक्रम स्थगित गरिएको जनाउनुभएको हो। तर, पार्टीको १४औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरू (बाँकी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरणलगायत) सम्बन्धित समितिमार्फत जारी रहने प्रवक्ता शर्माले बताउनुभयो।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले कोरोना संक्रमणबारे ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घर–घरसम्म’ सतर्कता र चेतनाको अभियान अघि बढाइने बताउनुभयो।

कार्यक्रम पार्टी र आबद्ध संस्थामार्फत विविध ढंगले अघि बढाइने उहाँको भनाइ थियो।

विश्वव्यापीरूपमा संक्रमण फैलिइरहेको प्राणघातक कोरोना भाइरसबारे प्रमुख प्रतिपक्ष दल कांग्रेसले ‘सरकार र समुदायका नाममा कांग्रेसको १४ बुँदे अपिल’ सोमबार सार्वजनिक गरेको थियो।

‘विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा हाम्रा सबै प्रयासहरू जोखिम सामना गर्ने दिशामा सम्पूर्णरूपले केन्द्रित गर्नुपर्ने भएको छ’, प्रवक्ता शर्माले भन्नुभयो– ‘सरकारी लापरबाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण भित्रिन या फैलिन सक्ने खतरालाई गम्भीररूपले लिएर सरकारलाई एकातर्फ हामी खबरदारी गरिरहेका छौं भने अर्कातर्फ यो जोखिम सामना गर्ने साझा राष्ट्रिय अभियानमा सरकारलाई कांग्रेसको सम्पूर्ण साथ रहनेछ।’

कांग्रेसले सरकार र सम्बन्धित निकायले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोध आत्मसात् गर्दै कांग्रेसले त्रिभुवन विमानस्थलमार्फत संक्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र स्थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरूमा स्वास्थ्य जाँचको केन्द्र तत्काल भरपर्दो रूपमा स्थापना गर्न सरकारलाई पुनः अपील गरेको छ।