संसद् भवनमा हेल्प डेक्स राख्ने तयारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर ठूला सभा–सम्मेलन नगर्न आग्रह गरेको छ।

तर, संघीय संसद्को बैठक भने नरोकिने भएको छ। कोरोना भाइरसको विषयमा संसद्मा जरुरी महत्वको प्रस्ताव दर्ता भएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा कोरोनाका कारण संसद् बैठक स्थगित गर्दा जनतामा त्रास फैलने भन्दै नियमित गर्ने निर्णय गरेको हो। फागुन २३ गते बस्ने संसद्को बैठकमा कोरोना भाइरससम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल हुने नेकपाका सचेतक शान्ता चौधरीले जानकारी दिनुभयो।

संसद् बैठकमा सांसदहरूले हात मिलाउन छोडेर नमस्कार गर्न थालेका छन्। नेकपाका सांसद श्यामकुमार श्रेष्ठले हात मिलाउन छोडेर नमस्कार गर्ने गरेको बताउँदै भन्नुभयो– ‘कोरोनाका कारण जनतामा केही त्रासजस्तो देखिन्छ, कोरोनालाई नेपालमा भित्रन नदिन संसद्मा आवाज उठाइरहेका छौं र सरकारले पनि आवश्यक काम गरिरहेको छ।’

सांसदले संसद् भवन परिसरमा हेल्प डेक्स राख्नुपर्ने माग गरेका छन्।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि समितिका सदस्यहरूले हेल्प डेक्स राखेर मात्र संसद् र अन्य व्यक्तिलाई संसद् भवनभित्र प्रवेश गर्न दिनुपर्ने माग गरेका हुन्।

संसद् सचिवालयअन्तर्गत रहेको स्वास्थ्य एकाइले संसद् भवन परिसर र सिंहदबारस्थित सभामुखको कार्यकक्ष आसपासको क्षेत्रमा सेनिट्राइज राख्ने काम गरेको छ। संवेदनशील विषयमा हेल्प डेक्स राख्नुपर्ने बताउँदै सचेतक चौधरीले यस विषयमा छलफल अगाडि बढेको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

सभामुख अग्निप्रसाद सापकोटाले पनि कोराना भाइरसका बारेमा संसद्लाई प्रभावकारी बनाएर लैजाने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल अगाडि बढाउनुभएको छ। उहाँले संसद् सचिवालयलाई आवश्यक सतर्कता अपनाउने गरी काम अगाडि बढाउन निर्देशन दिनुभएको सभामुखको सचिवालयले जनाएको छ।

विशेष प्रस्ताव पारित
प्रतिनिधिसभाकोे बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो।
प्रस्तावमा ‘महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मिर्गाैला प्रत्यारोपण कार्य सफलतासाथ सम्पन्न भएकोमा स्वास्थ्य लाभको कामना गर्दछ’ भनिएको छ।