कोरोना त्रास/प्रभाव: कूटनीतिक नियोगका पूर्वनिर्धारित कार्यक्रम रद्द

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना भाइरसको उच्च जोखिमसँगै कूटनीतिक नियोगहरूले पूर्वनिर्धारित कार्यक्रम रद्द गर्न थालेका छन्।

सरकारले गत आइतबार सभा, सम्मेलनलगायतका कुनै कार्यक्रम नगर्न आग्रह गरेपछि नेपालस्थित कूटनीतिक नियोगहरूले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन्। अमेरिकी दूतावासले २४४औं स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रम र कतारले चन्द्रगिरिमा आइतबार गर्ने भनिएको फुड फेस्टिबल रद्द गरिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरिसक्नुभएको छ।

विश्व स्वास्थ्य संगठनले चीनको छिमेकी मुलुक भएकाले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ। यस्तै उपत्यकाका तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने गरी कार्यक्रम नगर्न सार्वजनिक आग्रह गरेको छ। कोरोना भाइरसको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो।

‘कोरोना भाइरसको संक्रमणको जोखिम रहेकाले बढी भीडभाड हुने गरी कार्यक्रम नगर्न भनेका छौं’, ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कार्यक्रम गरेमा कारबाही गर्ने नै होइन। तर, अहिलेको समयमा कार्यक्रम नगर्दा बेस हुने भन्दै आएका छौं।’
सार्वजनिक सभा, समारोहको आयोजनाका लागि सोेध्न सबैैलाई यस्तै आग्रह गर्दै आएको पनि अधिकारी पाण्डेले बताउनुभयो।

ललितपुरमा विशेषतः अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा तय गरिएका थुप्रै कार्यक्रम स्थगित गरिएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११०औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका सम्बन्धमा तय भएको औपचारिक कार्यक्रम रद्ध गरेको छ।

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आगामी मार्च ८ का दिन (¥यालीसहितको साझा अभियान कार्यक्रम) र ११०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस हाललाई स्थगन गरिएको मन्त्रालयले जनाएको छ।

यसैगरी, कार्यालयले फागुपूर्णिमा (होली) का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको छ। होलीका अवसरमा कार्यक्रम गर्ने वा भीड हुने कार्य गर्न रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो।

होलीका लागि भीडभाड हुने कार्यक्रम नगर्न औपचारिक रूपमा नभनेको तर यस्तो अवस्थामा कार्यक्रम लिएर आउनेलाई स्वीकृति भने नदिएको प्रजिअ दाहालको भनाइ छ।

हाल कोरोना भाइरसको त्रास सबैतिर भएको र विभिन्न सञ्चारमाध्यमले पनि जानकारी दिइरहेकाले मानिसहरू आफैं सचेत हुनुपर्ने उहाँको भनाइ छ। संक्रमणबाट बच्न गर्नुपर्ने उपायबारे स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेको छ।

‘स्वीकृति लिन आउनेसँगै हामीले कार्यक्रम स्थगित गर्न भनेका छौं’ –कहींकतैबाट निर्देशन दिनुभन्दा पनि आफैँ सचेत हुनुपर्छ, दाहालको भनाइ छ।

ददददद