कोरोनाबारे सचेतना

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
लमजुङको मस्र्याङ्दी गाउँपालिका ६ र ७ बीच भएर बग्ने ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ नागरिक चीनबाट आयोजनास्थल आएपछि स्थानीयमा त्रास फैलिएको थियो।
चीनबाट फर्किएका चिनियाँबाट कोरोना भाइरस सर्ने डरले त्रसिएका स्थानीयलाई जिल्लाका स्वास्थ्यकर्मी, प्रशासन, प्रहरी, स्थानीय सरकारका जनप्रतिनिधिको समूहले एक कार्यक्रम गरी स्थानीयलाई कोरोना भाइरसबारे सचेतना दिएका छन्। न्यादी जलविद्युत् आयोजनामा निर्माण कम्पनीका मुख्य व्यक्तिसहितका प्राविधिक गरी आयोजनामा ६१ जना चिनियाँ कार्यरत छन्। यीमध्ये ४ जना चीन गएका थिएनन्। स्थानीयलाई कोरोना भाइरसबारे जानकारी र बच्ने उपायबारे जानकारी गराउन जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, लमजुङ जिल्ला सामुदायिक अस्पताल, मस्र्याङ्दी गाउँपालिकाको जनप्रतिनिधि साथै कर्मचारी, न्यादी जलविद्युत् आयोजनाका अधिकारीहरू ठूलीबेंसी पुग्नुभएको थियो।
कोरोना भाइरस सर्ने र नसर्ने अवस्था, बच्ने उपाय, अपनाउनुपर्ने सतर्कता, आयोजना क्षेत्र जोखिम भएको÷नभएको बारे जिल्ला सामुदायिक अस्पतालका मेडिकल अफिसर डा. वीरबहादुर स्याङ्तान र स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जानकारी गराउनुभएको थियो। डा. स्याङ्तानका अनुसार कोरोना भाइरस श्वास–प्रश्वासबाट सर्ने गर्छ। अत्यधिक ज्वरो, श्वास–प्रश्वासमा समस्या, सुख्का खोकी लाग्नु यसको लक्षण हो। कोरोना संक्रमित क्षेत्रबाट आएका नागरिकसँग घुलमिल भएमा सर्ने सम्भावना रहने बताउनुभयो। उहाँका अनुसार बिरामीसँंग ३ मिटरसम्मको दूरीमा यो रोग सर्ने गर्छ। शंका लाग्नेबित्तिकै नजिकैको अस्पतालमा गएर चेकजाँच गर्नुपर्ने उहाँले बताउनुभयो। स्वास्थ्य कार्यालयका प्रमुख दवाडीले आयोजना क्षेत्रमा हवाईमार्गबाट आएका चिनियाँ नागरिकको एयरपोर्टमा चेकजाँच हुने भएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो। आयोजनामा आएका चिनियाँ नागरिक एयरपोर्टबाट पास भएकाले सुरक्षित रहेको हुन सक्ने उहाँले बताउनुभयो।