नेपाल समाचारपत्र, विराटनगर ।
एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतको आदेशअनुसार प्रहरीले पुर्पक्षका लागि थुनामा राख्न झुम्का कारागार पठाइएको छ।
उच्च अदालत विराटनगरले गत माघ ९ गते गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकै दिनदेखि फरार भएका उनी मंगलबार सुनसरी जिल्ला अदालतमा हाजिर भएका थिए। जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालका अनुसार पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालतको आदेश कार्यान्वयनका लागि गिरीलाई थुनुवा पुर्जी दिएर कारागार पठाइएको हो। ‘गिरीले आफू उपचारका लागि भारत गएको र फर्किएर आएपछि उच्च अदालतको आदेशबारे जानकारी पाएको भन्ने बेहोराको निवेदनका साथ अदालतमा उपस्थित भएपछि थुनुवा पुर्जी दिएर उहाँलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।’ –दाहालले भन्नुभयो।
एक महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोपमा गत मंसिर दोस्रो साता पक्राउ परेका ४६ वर्षीय गिरी जिल्ला अदालत सुनसरीको आदेशमा गत पुस १४ गते ३ लाख रुपियाँको धरौटीमा रिहा हुनुभएको थियो। जिल्ला अदालत सुनसरीको आदेशमा रित नपुगेको भन्दै सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा निवेदन दिएको थियो। उक्त निवेदन परेलगत्तै गिरी पनि सादा तारेखमा रहेर मुद्दाको पुर्पक्ष गरिपाउँ भनी उच्च अदालतमा पुग्नुभएको थियो। ती दुवै निवेदनमाथि सुनवाइ गर्दै उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उच्च अदालतमा उक्त मुद्दाको सुनुवाइ भइरहेका बेला गिरी भने आफ्ना अंगरक्षकलाई रानी सिमानामै छोडेर भारतको जोगबनीतर्फ जानुभएको थियो।
महिलाले आफूलाई करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएको करिब पाँच हप्तापछि नेपाल प्रहरीले चतराका सिद्धबाबा भनिने गिरीलाई विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। प्रहरीका अनुसार मंसिर ८ गते आफूविरुद्ध उजुरी परेपछि पक्राउपुर्जी जारी भएलगत्तै ४६ वर्षीय गिरी अस्पताल भर्ना हुनुभएको थियो।











प्रतिक्रिया