सीमा विवाद सर्वोच्चमा

0
Shares

दिलकुमार लिम्बु, ताप्लेजुङ।

कञ्चनजंघा संरक्षण क्षेत्र र पाथीभरा क्षेत्रबीच सीमा विवाद भएपछि सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा बोलाएको छ।नेपाल सरकारले २०७५ चैत १८ गते प्रकाशित गरेको राजपत्रमा पाथीभरा क्षेत्र विकास समिति गठन पहिलो संशोधन आदेश–२०७५ मा कञ्चनजंघा संरक्षण क्षेत्रभित्रको ३ किलोमिटर पाथीभरा क्षेत्र विसक क्षेत्रभित्रबाट आफ्नो सीमा निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित गरेदेखि सीमा विवाद हुँदै आएको थियो।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय तहमा कुरा उठाए पनि समस्या समाधानको उपाय नभएपछि कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का खगेन्द्र फेम्बुले २०७६ फागुन २ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।पाथीभरा विकास समिति, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन मन्त्रालय र फुङलिङ नगरपालिकालाई विपक्षी बनाई रिट दायर भएको थियो।

पाथीभरा क्षेत्र विकास समितिको गठन आदेश–२०५१ मा पहिलोपटक संशोधन राजपत्रअनुसार कञ्चनजंघा संरक्षण क्षेत्रको तीन किलोमिटर भू–भाग पाथीभरा क्षेत्रमा पर्न गएको छ।

२०७५ चैत १८ गते प्रकाशित राजपत्रअनुसार पूर्वमा सिरिजंघा गाउँपालिका—३ को हर्कटे डाँडालाई भित्र पारी फुङलिङ नगरपालिका—११ फावाखोलाको सम्पूर्ण क्षेत्र, पश्चिममा फक्ताङलुङ गाउँपालिका–३ लिंखिम र वडा नं. ४ तापेथोकको पाथीभरा मन्दिरबाट ३ किलोमिटर क्षेत्रभित्रको सम्पूर्ण क्षेत्र पाथीभरा क्षेत्रमा पर्ने उल्लेख छ।

राजपत्रमै गल्ती भएको छ। जुन फक्ताङलुङ गाउँपालिका वडा ५ तापेथोक हुनुपर्नेमा, फक्ताङलुङ गाउँपालिकाको ४ नम्बर वडा इखाबु भिनी राजपत्रमा उल्लेख भएको छ। उत्तरमा फक्ताङलुङ गाउँपालिका–४ र सिरिजंघा गाउँपालिका–३ र ६ को सिमानाभित्र सम्पूर्ण क्षेत्र तथा दक्षिणमा फुङलिङ नगरपालिका–१० को फुरुम्बु गडिडाँडा, ९ नम्बर वडाको देउराली, ६ नम्बर वडाको सुकेटार सानो पाथीभरा उत्तरको सम्पूर्ण क्षेत्र र पाथीभरा याङवरक गाउँपालिका–३ को दुधीले पश्चिम फुङलिङ नगरपालिकाको सिमानाको सम्पूर्ण क्षेत्रलाई पाथीभराको क्षेत्र भनी उल्लेख गरेको छ।

तर, यसअघि कञ्चनजंघा संरक्षण क्षेत्राधिकार नेपाल राजपत्र–२०५४ साउन ६ गते प्रकाशित तथा कञ्चनजंघा संरक्षण घोषणा गर्दा पाथीभरा मन्दिरलाई भित्रपारी सीमा निर्धारण गरिएको थियो। मन्दिरलाई आधार मानेर सिमाना निर्धारण भएको थियो। पाथीभरा क्षेत्र विकास समितिको सीमा क्षेत्राधिकार निर्धारण गर्दा समुदायसँग छलफल नै नगरी पहुँचका आधारमा सिमा निर्धारण गरिएको भन्दै कञ्चनजंघा संरक्षण व्यपस्थापन परिषद्ले असन्तुष्टि जनाउँदै आएको थियो।

यता कञ्चनजंघा संरक्षण क्षेत्राधिकार राजपत्र–२०५४ साउन ६ गते प्रकाशित हुँदा २ हजार ३५ वर्ग किलोमिटर क्षेत्रफल थियो। पछिल्लो राजपत्रअनुसार पाथीभरा मन्दिरबाट ३ किलोमिटर क्षेत्र घटेको छ। तर, त्यो क्षेत्रफल कहाँसम्म र कति हो भन्ने सरोकारवाला निकायलाई नै पत्तो छैन। ‘हामीलाई हाम्रो क्षेत्र नै निश्चित भएन’, फेम्बुले भने– ‘विभिन्न फोरममा कुरा उठायौं कतै सुनुवाइ नभएपछि अदालत पुग्नुप¥यो।’ रुख–बिरुवा, वन्यजन्तुको संरक्षण र विनाशमा कसको अधिकार प्रयोग हुने जस–अपजस कसले लिने भन्ने प्रश्न उठेको उहाँले बताउनुभयो।

कानुन पछिल्लो मान्य हुने र राजपत्रमा समेत प्रकाशित भइसकेपछि तापेथोक संरक्षण क्षेत्र हो कि होइन अन्योल छ। तर, संघीय संरचनापछि पहिलाका गाविसका नाम अस्तित्वमा नरहेका र वडामात्रै अस्तित्वमा रहेकाले पाथीभरा क्षेत्र वडा नम्बर ४ (इखावु) मा पर्छ।

राजपत्र प्रकाशित गर्नुअघि संस्कृति मन्त्रालयले परामर्श मागेको तर क्षेत्र विस्तार आफूहरूका लागि मान्य नभएका कारणसहितको जवाफ पठाएको संरक्षण क्षेत्रका तत्कालीन योजना अधिकृत योगेश ढकालले जानकारी दिनुभयो। राजपत्र प्रकाशितपछि पनि संरक्षण क्षेत्रलाई क्षेत्रफल घटेको आधिकारिक पत्रमार्फत कसैले जानकारी नगराएको परिषद्को दाबी छ।