हिमालय बचाऔं अभियानमा शान्ति समाज

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
‘हिमालय बचाऔं, नदी जोगाऔं’ भन्ने मूल नारासहित मानव अधिकार तथा शान्ति समाजले प्रक्षेपण गरेको अभियानअन्तर्गत विराटनगरमा एक कार्यक्रम सम्पन्न भएको छ।
शान्ति समाज मोरङ शाखाका सभापति डिल्लीबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृष्ण पहाडीले जलवायु परिवर्तन विश्वव्यापी उष्णता र हिमालय क्षेत्रका बारेमा विस्तृत प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा समाजका सभापति उत्तम पुडासैनी, वरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव सुशिल बस्नेत, हिमालय दर्शन कलेजका प्राचार्य भरत सापकोटा, अधिकारकर्मी सन्जु शाहले मन्तव्य व्यक्त गर्नुभएको थियो भने नागरिक समाजका अगुवा अर्जुन पराजुलीले कविता सुनाउनुभएको थियो।
हिमालय दर्शन कलेजको सभाकक्षमा सम्पन्न गोष्ठीमा स्नातक तहका विद्यार्थीहरूसमेत गरी १ सय ५० जनाको सहभागिता थियो। कार्यक्रममा संस्थापक सभापति कृष्ण पहाडीले विभिन्न क्याम्पसमा अध्यापन गर्ने प्राध्यापक डाक्टर गरी ५ जनालाई समाजको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
यससँगै शान्ति समाजद्वारा सञ्चालित ‘हिमालय बचाऔं, नदी जोगाऔं’ अभियानअन्तर्गत १ नम्बर प्रदेशमा आधा दर्जनभन्दा बढी कार्यक्रम सम्पन्न भएका छन्।
संखुवासभाको मकालु गाउँपालिकाबाट शुरू भएको अभियानका क्रममा संखुवासभा, तेह्रथुम, धनकुटामा नागरिकसभा, सुनसरी र मोरङमा गोष्ठी गरी आधा दर्जन बढी कार्यक्रम सम्पन्न भएका छन्।
अभियानका दौरान ती जिल्लाहरूमा शान्ति समाजद्वारा हिमालय बचाऔं अभियानअन्तर्गत तयार गरिएको अवधारणापत्र वितरण गरिएको थियो।