नेपाल समाचारपत्र, बैतडी ।
बैतडीको पाटन नगरपालिकाले नगरपालिकाभरिका गर्भवतीलाई ‘पेटभित्रको बच्चाको बाबालाई चिठी’ वितरण गर्ने कार्य शुरू गरेको छ। गर्भावस्था विशेष अवस्था भएकाले पेटभित्रको बच्चाको आग्रहसहितको चिठी वितरण गर्न थालिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो।
चिठीमा बच्चाले आफू आमाको पेटमा हुर्किरहेको र यो बेला आमालाई पोसिलो खानेकुरा दिनुपर्छ भनेर बाबालाई भनेको स्वास्थ्य शाखाका प्रमुख महराले बताउनुभयो।
गर्भवती भएका बेलामा आमाले नियमित रूपमा गर्भ जाँच गराउनुपर्ने, अन्य समयको तुलनामा बढी पोसिलो खानेकुरा खानुपर्ने, अन्य समयको तुलनामा बढी आराम गर्नुपर्ने भएकाले चिठीमार्फत अभिभावकहरूलाई जिम्मेवार बनाउन खोजिएको बताइएको छ। नगरपालिकाले सबै स्वास्थ्य संस्थामार्फत प्रत्येक गर्भवती महिलाको घरमा चिठी वितरण गर्न थालेको हो। चिठीमा घरबाहिर भएका बुवालाई समेत घर फर्केर आमाको स्वास्थ्यको ख्याल गर्न बच्चाले आग्रह गरेको छ। गर्भावस्थामा आमाले खाएको खानाले नै बच्चाले पनि पाउने भएकाले यो बेला ध्यान दिनुपर्ने कुरा उल्लेख गरिएको छ। पेटभित्रको बच्चाको बाबालाई चिठी पुगेपछि गर्भवती आमा र स्वास्थ्य र पोषणका विषयमा घरपरिवार जिम्मेवार हुने सुआहाराका फिल्ड सुपरभाइजर निर्मला भट्टले बताउनुभयो।











प्रतिक्रिया