फोहोरमैला व्यवस्थापन लागि स्वनियम पालना गर्न आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
फोहर संकलन र ढुवानीका लागि काम गर्ने निजी कम्पनीका सदस्यहरूले स्वनियम पालनासम्बन्धी व्यवस्था सार्वजनिक गरेका छन्।
फोहरमैला व्यवस्थापन संघ (स्वमान) ले आयोजना गरेको ‘कार्य एकरूपता, अनुगमन तथा मूल्यांकनसम्बन्धी मापदण्ड सार्वजनिकीकरण र अभिमुखीकरण कार्यक्रम’ मा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले यस व्यवस्थासम्बन्धी पुस्तिका सार्वजनिक गर्नुभएको हो।
फोहरमैला व्यवस्थापन संघ (स्वमान) ले आयोजना गरेको ‘कार्य एकरूपता, अनुगमन तथा मूल्यांकनसम्बन्धी मापदण्ड सार्वजनिकीकरण र अभिमुखीकरण कार्यक्रम’ मा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले यस व्यवस्थासम्बन्धी पुस्तिका सार्वजनिक गर्नुभएको हो।
‘कार्यसञ्चालन, अनुगमन तथा मूल्यांकनसम्बन्धी निर्देशिका–२०७६’ दस्तावेजमा कामदारको पोसाक, सुरक्षा सामग्री, फोहरमैला संकलन गर्ने समय तालिका, कार्यपद्धति, सेवा शुल्क, सेवाग्राहीसँग गरिने व्यवहारलगायत व्यवस्था राखिएका छन्। त्यस्तै, कर्मचारीको आचरण तथा अन्य मापदण्ड, ल्यान्डफिल साइटसम्म फोहरमैला ढुवानी तथा व्यवस्थापन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डको परिपालनाजस्ता विषय समेटिएका छन्। यसको पालनाबाट निजी क्षेत्रको कामप्रति समुदाय र सरकार दुवै पक्षको विश्वास बढ्ने निजी क्षेत्रले अपेक्षा लिएको छ।
कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले स्वनियम लागू गराएर आफूलाई अनुशासित बनाउन खोज्नु सराहनीय काम भएको उल्लेख गर्नुभयो। महानगरको प्राथमिक काम भनेकै फोहर व्यवस्थापन गरेर शहरलाई सफाइ गर्नु हो। महानगरको यस काममा निजी क्षेत्रले ठूलो सहयोग पुर्याएको छ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले निजी क्षेत्रको स्वनियमले उनीहरूलाई परिचालन गर्न, कामको मूल्यांकन गर्न, काममा एकरूपता कायम गराउन सहज हुने धारणा राख्नुभयो।
यसबाट निजी क्षेत्रलाई पहिचान दिन पनि सजिलो हुन्छ। ‘फोहर संकलन तथा ढुवानी गर्ने सवारीसाधनलाई एउटै रंगको बनाउने कुरा आएको छ यस विषयमा यातायात व्यवस्था विभागसँग बसेर हामी सहजीकरण गर्छौ’– श्रेष्ठको भनाइ थियो।
स्वमानका पूर्वअध्यक्षहरू टीकाराम दाहाल र बासु उप्रेतीले निजी क्षेत्रको कामको विश्वसनीयता र गरिमालाई बढाउन कम्पनी तथा संस्थाहरूले सफाइमा गर्ने कामको एकरूपता जरुरी देखिएकोले यस प्रकारको व्यवस्था गरिएको बताउनुभयो।
संघका अध्यक्ष धनप्रसाद आचार्यले सफाइमा काम गर्नेहरूले पहिचानसहित काम गर्नुपर्ने अवस्था छ। त्यस्तै, सफाइसँग जोडिएका हरियाली प्रवर्धन र वातावरणीय सुधारका अन्य काम गर्न पनि जरुरी छ, त्यसैले यो व्यवस्था गरिएको बताउनुभयो ।
स्वनियम व्यवस्थामा ६ वटा परिच्छेद र एउटा अनुसूची राखिएको छ। फोहरमैला संकलन र व्यवस्थापनका लागि हरेक संघ संस्थाले स्रोतमा फोहोर छु्ट्याउने, छुट्टिएको फोहरमध्ये जैविक फोहरलाई हप्ताको २ पटक र अजैविक फोहरलाई एकपटक उठाउने, संकलित फोहरलाई छोपेर मात्र प्रशोधन केन्द्र वा ल्यान्डफिल साइटमा पु¥याउने, समुदायलाई फोहर व्यवस्थापनमा जागरुक गराउन, खुर्कीखार्की, माइकिङ तथा तालिम गोष्ठी सञ्चालन गर्नुपर्ने, सरसफाइ नमुना क्षेत्र बनाउने, फोहरमुक्त क्षेत्र घोषणा गर्नेलगायतका काम परिच्छेदमा व्यवस्था गरिएको छ।
आफूले फोहर संकलन गर्ने गरेको क्षेत्रमा पर्ने सडक, पार्कजस्ता सार्वजनिक स्थलहरूमा हप्ताको १ पटक अनिवार्य झाडु लगाउनुपर्ने, फोहरको परिणाम र ढुवानी गर्नुपर्ने दूरीका आधारमा स्थानीय तहसँगको समन्वयनमा शुल्क निर्धारण गर्नुपर्ने, सफाइमा काम गर्नेको एउटै प्रकारको पोसाक हुनुपर्ने, सुरक्षा उपकरण प्रयोग गर्नुपर्ने, सवारीको बीमा गर्नुपर्ने, सवारी चालक अनुमतिपत्र भएका चालकले मात्र सवारी चलाउनुपर्ने जस्ता व्यवस्था उल्लेख छन्।
हिउँदको समयमा बिहान ६ बजेदेखि र बर्खाको समयमा बिहान ५ बजेदेखि सफाइ शुरू गरेर मुख्य सडकमा बिहान ८ बजेभित्र र भित्री सडकमा दिउँसो २ बजेभित्र फोहर संकलनको काम सक्ने व्यवस्था गरिएको छ।
अनुसूचीमा फोहर उत्पादकहरूबाट लिइने शुल्कसम्बन्धी व्यवस्था गरिएको छ। यसबमोजिम सबैभन्दा कम शुल्क सय स्क्वायर फिटसम्ममा सञ्चालन भएका कस्मेटिक, पत्रिका, कपडा, फेन्सीको शुल्क राखिएको छ।
यिनीहरूको मासिक शुल्क ३ सय रुपियाँ हो। २ परिवारसम्म बसोबास गर्ने एक परिवारको मासिक शुल्क ४ सय राखिएको छ भने २ परिवारभन्दा बढी भए प्रति परिवार १ सय ५० रुपियाँ थप गरिएको छ। शुल्कमा सबैभन्दा धेरै सय बेडभन्दा माथिका अस्पतालको राखिएको छ।
उनीहरूको मासिक शुल्क न्यूनतम ५० हजार र अधिकतम १ लाख रहेको छ। सय बेडभन्दा तलका अस्पतालको मासिक शुल्क न्यूनतम २५ हजार र अधिकतम ५० हजार राखिएको छ। यो व्यवस्था पालना भएपछि फोहर व्यवस्थापनका सवारी तथा उपकरण, काम गर्ने विधि र प्रक्रिया, फोहर संकलन गर्ने तालिका, शुल्कजस्ता कुरामा एकरूपता आउने स्वामानका महासचिव मित्र घिमिरेको भनाइ छ।