कोरोनाका कारण अर्थतन्त्रमा असर पर्न सक्छ: राष्ट्र बैंक


नेपाल समाचारपत्र, काठमाडौं ।
विश्व अर्थतन्त्रमा आएको सुस्ती, केही देशमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्न सक्ने असर तथा वर्षेवाली धानको उत्पादनमा आएको कमीले आर्थिक वृद्धि प्रभावित हुने नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा उल्लेख छ।
राष्ट्र बैंकले राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनमा अपनाइने तदारुकता तथा प्रदेश एवम् स्थानीय तहमा हुने विकास–निर्माणका कारण निर्माण एवम् सेवा क्षेत्रका क्रियाकलाप विस्तार भई उच्च आर्थिक वृिद्धको प्रवृत्तिलाई निरन्तरता दिन मद्दत पुग्ने अनुमान छ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले विश्व खाद्य मूल्य सूचकांक सन् २०२० को जनवरीमा १८२ दशमलव ५ पुगेको र यो सन् २०१४ को डिसेम्वरपछिको उच्च रहेको जनाएको छ। छिमेकी मुलुक भारतमा समेत खाद्यान्न मूल्य वृद्धिको दबाब कायमै छ। अन्तर्राष्ट्रियस्तरमा देखिएको मुद्रास्फीतिका कारण नेपालमा समेत मुद्रास्फीतिको चाप कायमै रहने देखिन्छ।
समष्टिगत विवेकशील नियमनको प्रभावकारी उपयोगका कारण वित्तीय स्थायित्व कायम रहेको भए पनि पछिल्लो समय सम्पत्ति बजारमा देखिएको प्रवृत्तिले वित्तीय क्षेत्रमा थप जोखिम सिर्जना गर्नसक्ने सम्भावना छ।
विश्व अर्थतन्त्रमा आएको सुस्ती र चीनमा देखिएको कोरोना संक्रमणको प्रभाव अन्तर्राष्ट्रिय बजारमा तेलको माग र मूल्यमा देखिन थालेको छ। पेट्रोलियम पदार्थको मूल्यमा आउने कमीले आयात व्यवस्थापनलाई सहज बनाउने भएता पनि विप्रेषण आप्रवाह प्रभावित हुने सम्भावना पनि छ।