बेरिङ बनाएर सवा चार करोडको सुन तस्करी

0
Shares

हेटौंडा, (नेस)

मकवानपुर प्रहरीले करिब सवा ४ करोड मूल्य बराबरको अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

मंगलबार बिहान करिब ४ः३० बजे हेटौंडा उमनपा वडा नम्बर–१५ स्थित रातोमाटे चेकपोस्टमा उक्त सुन बरामद गरिएको हो। काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको यात्रुवाहक बस चेक गर्ने क्रममा भारतको कर्नाटक राज्य बस्ने वर्ष ४२ का अब्दुल मजिद अनेकलउपर शंका लागेर उनले बोकेको झोला चेक गर्दा सुन बरामद भएको प्रहरीले जनाएको छ।

झोलामा मोटर पार्टस्भित्र जडान हुने फलामको बेरिङजस्तो देख्ने ४ थान, फलामको पास्ताको बेरिङ २ थान र फलामको मिट बेरिङ २ थान गरी ८ वटा रहेकोमा उक्त फलामका पार्टस्हरू बरामद गर्दा सुनजस्तो देख्ने पहेँलो रंगको धातुका ढिक्काहरू नै सुन रहेको खुल्न आएको थियो।

उक्त सुनजस्तो देखिने ८ वटा ढिक्का सुनचाँदी व्यवसायी संघ मकवानपुरलाई पत्राचार गरी सुन हो वा होइन र उक्त सामानको तौल तथा मंगलबारको बजार मूल्य खुलाई दिन पत्र पठाउँदा उक्त संस्थाले सुनजस्तो देखिने ढिक्का सुन नै रहेको र जसको तौल ६ केजी २ सय ८९ ग्राम ३ सय ५० मिलीग्राम रहेको पुष्टिसहित बजार मूल्य ४ करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपियाँ रहेको जानकारी गराएको थियो।

अनेकललाई सुनसहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको प्रहरीले जनाएको छ।