चैत ५ भित्र परीक्षा सम्पन्न गर्न निर्देशन

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा सम्पन्न निर्देशन दिएको छ।

मन्त्रालयले करिब एक महिना विद्यालयमा कुनै पनि गतिविधि सञ्चालन नगर्न पनि आग्रह गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले सो आग्रह गरेको हो। मन्त्रालयको यो निर्देशनपछि आगामी शैक्षिक सत्र विसं २०७७ को सरकारी भर्ना अभियान र निजी विद्यालयको भर्ना प्रक्रियामा गम्भीर समस्या पर्ने भएको छ।

मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा सम्पन्न गरी करिब एक महिना विद्यालय बन्द गर्ने अलिखितिरूपमा निर्देशन दिएको हो। बैठकमा उपस्थित सबै सरोकारवालाले लिखितरूपमा विद्यालय बन्द नै गर्न उल्लेख नगरे पनि अधिकांश सरोकारवाला निकायले विषम परिस्थितिमा विद्यालय बन्द गर्ने धारणा व्यक्त गरेका थिए।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिँदै मन्त्रालयले जारी गरेको सूचनामा कक्षा ८ को परीक्षाको केन्द्र विद्यालयमै राख्न निर्देशन दिइएको छ। सूचनामा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीध्र प्रारम्भ गरी आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

त्यस्तै कक्षा ८ को स्थानीय तहस्तरको परीक्षामा आफ्नो विद्यालयमै केन्द्र तय गर्न आग्रह गरेको छ। सूचनामा विद्यालयमा सामूहिक भेला, सेमिनार, गोष्ठी, वार्षिकोत्सवलगायतका कार्यक्रम नगर्न समेत निर्णय गरेको छ।

बैठकमा शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, उपत्यकाका तीनै जिल्ला शिक्षा समन्वय समिति, शिक्षा मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो। बैठकले यो विषयमा समन्वय गर्न संघीय मन्त्रालयमार्फत सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।
बैठकमा आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) र वैशाख ८ गतेदेखि सञ्चालन हुने कक्षा १२ र २१ गतेदेखि सञ्चालन हुने ११ को परीक्षा हाललाई यथावत् राख्ने निर्णय गरेको छ। एसईई परीक्षा केन्द्रीय सरकार मातहत सञ्चालन हुने गरेको छ।

प्याब्सनका महासचिव कुमार घिमिरेले विश्वभर फैलिएको कोरोना भाइरसका कारण दुर्घटना हुन नदिन सरकारले गरेको निर्णयलाई सबै निजी विद्यालयले पालना गर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘सरकारले निर्णय गरिसकेको छ, अब प्याब्सनले सबै जिल्ला कार्यालयलाई परिपत्र गरी तत्काल परीक्षा सम्पन्न गरेर केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गर्नेछौं।’ अधिकांश सरकारी र निजी विद्यालयले चैतको दोस्रो साता परीक्षा सञ्चालन गरी केही दिन विद्यालय बन्द गर्ने र अभिभावक दिवस मनाउँदै भर्ना अभियान सञ्चालन गर्ने गरेका थिए।

प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले सरकारले गरेको निर्णयलाई सबैले पालना गर्नुपर्ने बताउँदै सावधानीका साथ चाँडै परीक्षा सञ्चालन गरेर केही दिनका लागि विद्यालय बन्द गर्नुको विकल्प नभएको बताउनुभयो।

सरकारी विद्यालयले समेत चैत ५ भित्र परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ। करिब ६५ लाख विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले ठीक समयमा निर्णय गरेको सरोकारवालाको भनाइ छ। शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले चैत ५ भित्र परीक्षा सम्पन्न गरी केही दिन विद्यालय बन्द गर्न सबै विद्यालय सञ्चालकलाई आग्रह गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले सूचना जारी गरेका छौं, सोहीअनुसार सबै विद्यालयले कार्यान्वयन गर्नुपर्छ।’

विद्यालय बन्द भएपछि अब निजी विद्यालयको महँगो भर्ना प्रचार सम्भवतः रोकिएको छ। शिक्षा तथा मावन स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाले कोरोनाबाट विद्यार्थीलाई सचेत गराउने उपायका बारेमा सम्बन्धित निकायलाई परिपत्र गर्ने तयारी भएको बताउनुभयो।